images
images

एयरपोर्टबाट श्रीमतीलाई भिडिओ कल गरेका रुपलाल मलेसियामै अस्ताए

  • २३ भाद्र २०८१, आईतवार २२:५२

करिब ४ वर्ष अघिको कुरा हो । दाङको तुलसीपुर उपमहानगरपालिका–११, बेलगनारका रूपलाल चौधरी बैदेशिक रोजगारीमा मलेसिया पुगे । धन कमाउने आसले परिवार र समाज छोडेर विदेशीयका उनी शनिबार घर फर्किने खबरपछि परिवारमा हर्षाेल्लास छाएको थियो । तर, बीचमा यस्तो दुखद घट्ना घट्यो की रुपलालका आउने आशमा बसेका परिवार एकाएक उनको शवको पखाईमा छन् ।

शनिबार करिब ४ बजेतिरदेखि सम्पर्कमा नआएका रूपलाल आइतबार बिहानसम्म पनि आएनन् । परिवारका सदस्यलाई प्लेनमा आइसकेका कारण फोन लागेन भन्ने मनमा थियो । उनको पर्खाइमै बसिरहे । तर, प्लेनमा ५–६ घण्टामै नेपाल आइपुग्नुपर्ने भएपनि उनी लामो समयसम्म सम्पर्कमा आएनन् । त्यसपछि उनको खोजी भयो ।

उनका भाइ लोकमणि पनि मलेसियामै छन् । रुपलालको फोन नलागेपछि सोधखोज सुरु भयो । त्यसपछि बल्ल पत्ता लाग्यो । उनको नेपाल आउने क्रममा विमानस्थलमा हृदयघातका कारण निधन भएको रहेछ । स्वदेश फर्कने भनेर विमानस्थलसम्म आइपुगेर भिडिओ कल गरेका रूपलालको अकस्मात् निधनको खबर आयो । आफन्तलाई पनि अपत्यारिलो बनिदियो ।

सानैमा छाडेर विदेशिएका बुवा भेट्न १३ र १६ वर्षीय छोराहरू विपिन र विवेक आतुर थिए । उनको पर्खाईमा बसेका दुई छोरा, श्रीमती र वृद्ध आमा छाँगा झै झरेझै हुन पुगे । यता, रुपलालकी श्रीमती ब्रत बस्दै थिइन् । थारूहरूको विशेष पर्व चलिरहेकाले श्रीमती ब्रतमा थिइन् । ८० वर्षीया आमा रुपनी छोरा आउने खुसीले हर्षमा थिइन् । अहिले उनी सहित सबै परिवार रुपलालको शवको बाटो हेर्दै छन् ।

परिवारसँग निरन्तर सम्पर्कमा रहेका रूपलालले मलेसियाको क्वालालम्पुर विमानस्थलमा शनिबार दिउँसो अकस्मात संसार छाडेका हुन् । ४ वर्षपछि स्वदेश हिँडेका रूपलालको विमानस्थलभित्रै निधन भएको हो ।

नेपाली समयअनुसार शनिबार दिउँसो करिब ४ बजेसम्म रूपलाल सम्पर्कमै थिए । उनले विमानस्थल पुगेपछि पनि आफन्तलाई फोन र म्यासेजमार्फत आफू फर्कन लागेको जानकारी गराएका थिए ।