काठमाडौँ । बाढीले बगाएको खुर्कोटको सडक पुलमा दसैँ अघि नै बेलिब्रिज राख्ने गरी नेपाली सेनाले काम सुरु गरेको छ ।
पुलमा बेलिब्रीजका लागि आवश्यक सबै सामाग्री खुर्कोट पुगिसकेको र आजबाट काम सुरु हुने नेपाली सेनाले जनाएको छ । सुनकोसी नदीको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने पुलमा यातायात सञ्चालनका लागि प्रारम्भिक काम सुरु भएको हो ।
रामेछापतर्फको ५१ मिटर बगेकोमा दसैँ अघि नै बेलिब्रीज पुल हालेर यातायात सञ्चालनको तयारी गरिएको छ । १० वर्षअघि बनेको सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका ६ को बेतीनी जोड्ने सुनकोसी नदीको १०० मिटर लम्बाई रहेको पुलको ५१ मिटर भाग बाढीले बगाएपछि आवतजावत ठप्प बनेको हो ।
हाल बत्ती जडानकोे काम भैरहेको र राती पनि काम गरेर दसैको टिकाको अघिल्लो दिनसम्म काम सक्ने प्रयासमा रहको नेपाली सेनाका प्राबिधिकहरुले बताएका छन् ।