हेटौँडा । मकवानपुरमा तेल ट्यांकरको डिव्वाभित्र लुकाएर राखिएको करिव ४ सय किलो लागुऔषध (गाँजा) सहित दुई जना पक्राउ परेका छन् ।
हेटौँडा–१५ रातोमाटे चेकपोष्टबाट ३९२ किलो लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ट्यांकर चालक मनहरी गाउँपालिका–९ ज्यामिरेका २६ वर्षीय रोशन पुरी र सहचालक सोही स्थानका २२ वर्षीय धनबहादुर मल्ल रहेका छन् ।
ट्याङ्करको पाँचवटा डिब्बाहरू मध्ये ३ नम्बरको डिब्बाभित्र प्लाष्टिकले बेरेर २५ वटा पोका बनाएर लुकाई छिपाई ल्याएको अवस्थामा लागु औषध गाँजा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मकवानपुरको थाहानगरबाट विरगञ्जतर्फ जाँदै गरेको ना ७ ख १७७१ नम्वरको ट्यांकर चेकजाँच गर्ने क्रममा सो परिमाणको लागुऔषध गाँजा सहित उनीहरुलाई आज बिहान करिव सवा ३ बजे पक्राउ गरिएको हो ।