दोलखा । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले संघ, प्रदेश र स्थानीय सरकार मिलेर विकास निर्माणका काम अघि बढाउनु पर्ने बताउनुभएको छ ।
दोलखाको कालिञ्चोक गाउँपालिका–६ लापिलाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको आज उद्घाटन गर्दै उहाँले तीनै तहका सरकार मिलेर पूर्वाधार विकास र सामाजिक विकासका काम गर्नु पर्ने बताउनुभएको हो । २०४६ सालको राजनीतिक परिवर्तनपछि आजसम्म आइपुग्दा मुलुकमा पूर्वाधार विकासले फड्को मारेको र नागरिकले भरपुर अधिकार पाएको मन्त्री काफ्लेले बताउनुभयो ।
अहिले जनताको हातमा शासन सत्ता आएको उल्लेख गर्दै मन्त्री काफ्लेले मुलुकलाई सपार्ने वा बिगार्ने हात पनि आम नागरिकको भएको उल्लेख गर्नुभयो । लापिलाङको पहिरो बिकराल भएको र संवेदनशील भएर काम गर्नु पर्ने अवस्था रहेको उहाँको भनाई छ ।
भवन उद्घाटन समारोहमा कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटी लगायतले सम्वोधन गर्नुभएको थियो ।