images
images

मन्त्रीका पिएसओ मृत फेला परेपछि प्रहरीकोमा उजुरी, घटना शंकास्पद रहेको परिवारजनको दावी

  • २२ कार्तिक २०८०, बुधबार ०८:०८

काठमाडौं । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पिएसओ) को आत्महत्या शंकास्पद देखिएको भन्दै मृतकका परिवारले प्रहरीकोमा जाहेरी दिएका छन् ।

मकवानपुरको मनहरि गाउँपालिका–७ बिजौना स्थायी घर भएका प्रहरी सहायक निरीक्षक (असई) ४२ वर्षीय यमबहादुर सुवेदी हिजो मृत्त फेला परेका थिए । शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको भन्दै मृतकका परिवारले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लिखित उजुरी दिएका हुन् ।

शव पोष्टमार्टमको क्रममा उनको घाटीको हड्डी भाँचीएको र खुट्टा तथा जिउमा नीलडाम देखिएको भन्दै परिवारले अनुसन्धान गर्न निवेदन दिएका हुन् । मकवानपुरको हेटौँडा उपमहानरगपालिका–११ को पुण्य क्षेत्रस्थित जंगलमा आफूले लगाएको पेटीले झुण्डिएको अवस्थामा उनी हिजो मृत्त फेला परेका हुन् । इलाका प्रहरी कार्यालय खानीखोला, धादिङ दरबन्दी भएका सुवेदी केही समयदेखि मन्त्री दुलालको अंगरक्षकका रुपमा कार्यरत थिए ।