काठमाडौँ । २०५६ सालदेखि फेल भएका कक्षा ११ र १२ का परीक्षार्थीले मौका परीक्षा दिन पाउने भएका छन् ।
५६ सालदेखि २०७७ सालसम्म कक्षा ११ र १२ का विभिन्न विषयमा अनुत्तिर्ण भएका विद्यार्थीहरुले मौका परीक्षा दिन पाउने भएका हुन् । अन्तिम एक पटकका लागि मौका परीक्षाको व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यो सँगै २५ वर्ष अगाडी फेल भएका विद्यार्थीले पनि मौका परीक्षाको अवसर पाउने भएका छन् ।
बोर्डका अनुसार रजिष्ट्रेसन नम्वरको सुरुका दुुई अंक ५६ वा सो भन्दा बढी र ७७ वा सो भन्दा कम तथा कक्षा ११ को लागि ५६वा सो भन्दा बढी र ७६वा सो भन्दा कम भएकालाई अन्तिम एक पटकका लागि परीक्षामा सहभागि हुन पाउने व्यवस्था गरिएको हो ।
परीक्षामा सहभागि हुनका लागि बोर्डले आगामी मंसिर २७ गतेसम्म सम्बन्धित विद्यालय मार्फत आवेदन फारम भर्न आग्रह गरेको छ ।