दोलखा । निर्वाचन उपसमितिले निर्वाचित घोषणा गरेको दोलखाको जनसचेतन वचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालकमा ६ जना शिक्षक रहेका छन् ।
संचालक समिति र लेखा सुपरिवेक्षण समितिमा गरी १८ जना निर्वाचित भएको घोषणा गरिएकोमा उपाध्यक्ष र सचिवसहित ६ जना शिक्षक रहेका हुन् । शिक्षक भएकै कारण ४ जना उम्मेदवारको उम्मेदवारी खारेज गरेको निर्वाचन उपसमितिले एकल उम्मेदवार भएको भन्दै बाँकी ६ जना शिक्षकलाई भने निर्वाचित भएको घोषणा गरेको हो ।
यी हुन् निर्वाचित शिक्षक
जनसचेतनको महिला उपाध्यक्षमा निर्वाचित सुमिता शिवाकोटी उप्रेती, सचिव भरत केसी, सञ्चालक सदस्यहरु अमृत शेर्पा र सृजना घिमिरे तथा लेखा समिति सदस्य सुशिला न्यौपाने बहालवाला शिक्षक हुन् । उनीहरु बिभिन्न बिद्यालयमा शिक्षण पेशामा कार्यरत छन् । यस्तै, अर्का सञ्चालक सदस्य उर्मिला गौतम पनि वैतेश्वरकै एक बिद्यालयको लेखाकी कर्मचारी हुन् ।
निर्वाचन उपसमितिले शिक्षण पेशामा रहेपनि उनीहरुले उम्मेदवारी दिएको पदमा एकल उम्मेदवारी परेका कारण निर्वाचित घोषणा गरिएको जनाएको छ । समितिले दोहोरो उम्मेदवारी परेका अन्य ४ जना शिक्षकको उम्मेदवारी भने सहकारी नियमावली र प्रदेश सरकारी ऐनमा ‘शिक्षक उम्मेदवार बन्न नपाउने व्यवस्था भएको’ भन्दै खारेज गरेको थियो ।
चार शिक्षकको उम्मेदवारी खारेज
वैतेश्वर गाउँपालिकावाट सञ्चालक सदस्यमा उम्मेदवारी दिएका सिताराम न्यौपाने र मिनप्रसाद दहालको उम्मेदवारी पहिलो चरणमा खारेज गरी असोज २२ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो । त्यस लगत्तै खारेजीमा परेका उम्मेदवार सिताराम न्यौपानेले विभेद गरिएको भन्दै निर्वाचन उपसमितिलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । उजुरी परेपछि निर्वाचन उपसमितिले बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको राय माग गर्दै पत्राचार गरेको थियो ।
मन्त्रालयले असोज ३० गते सहकारी ऐन र प्रदेश सहकारी ऐनमा समेत सार्वजनिक पदमा बसेका व्यक्ति, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको कार्यालय वा निकायमा कार्यरत कर्मचारी सहकारी संस्थाको समिति र लेखा सुपरिवेक्षण समितिमा निर्वाचित वा मनोनित हुन नसक्ने व्यहोराको पत्राचार गरेको थियो ।
सोही पत्रका आधारमा निर्वाचन उपसमितिले कार्तिक २० गते कोषाध्यक्षका उम्मेदवार हरि वहादुर पाण्डे र लेखा समितिका सदस्य सन्तोष भुजेलको पनि उम्मेदवारी खारेज गरेर एकल उम्मेदवारी परेको भन्दै सवै पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो ।
स्थानीय प्रशासनले माग्यो विवरण
यसैवीच, जिल्ला प्रशासन कार्यालय दोलखाले जनसचेतन साकोसको साधारण सभा तथा निर्वाचन उपसमितिको काम कारवाहीका बिषयमा के भएको हो ? निर्वाचन प्रक्रिया देखिका सवै कागजात सहित ३ दिनभित्र खुलाई पठाउन भनेको छ । जिल्ला प्रशासन कार्यालय दोलखाका प्रशासकीय अधिकृत विकल श्रेष्ठले आज जनसचेतन साकोसलाई पत्राचार गर्दै यस्तो विवरण माग गरेका हुन् ।
जनसचेतनको संचालक र लेखा समिति चयनको प्रक्रियामा विभेद र त्रुटी भएको भन्दै कोषाध्यक्ष पदका उम्मेदवार पाण्डेले जिल्ला प्रशासन कार्यालयमा बुधवार उजुरी दर्ता गराएका थिए ।