दोलखा । भीमेश्वर नगरपालिकाको अन्तर विद्यालय स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ आजबाट सुरु भएको छ ।
सदरमुकाम चरिकोटस्थित भीमेश्वर रंगशाला (टुँडिखेल) मा सुरु भएको प्रतियोगिताको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले उद्धघाटन गर्नुभयो । कार्यक्रमको उद्धघाटन गर्दै मन्त्री काफ्लेले खेलकुद क्षेत्रको विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । यसरी पालिकास्तरमा हुने प्रतियोगिताले खेलको विकासमा सहयोग पुग्ने उहाँको भनाई छ ।
प्रतियोगिताको उद्धघाटन कार्यक्रममा प्रदेश सांसद भरत केसी, भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धर, उपप्रमुख कमला बस्नेत लगाएतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
आगामी मंगलबारसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिका भित्रका १९ वटा विद्यालयको सहभागिता रहेको छ । भीमेश्वर नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा भलिबल, एथ्लेटिक्स, दौड, रिले दौड, हाईजम्प लङजम्प लगाएतका खेल हुनेछ ।