दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकामा हुने स्थानीय तहको उपनिर्वाचनमा १२ वटा मतदानस्थल रहने भएका छन् ।
मंसिर १६ गते उपाध्यक्ष पदकालागि हुने निर्वाचनमा १२ वटा मतदान स्थल रहने भएको हो । जिल्ला निर्वाचन कार्यालय दोलखाका अनुसार गौरीशंकरको १ नम्वर वडदेखि ७ नम्बर वडा (जुँगुदेखि मार्वुसम्म) १÷१ वटा तथा वडा नम्बर ८ खारेमा २ र वडा नम्बर ९ गौरीशंकरमा ३ वटा मतदानस्थल रहने छन् ।
जिल्ला निर्वाचन कार्यालय दोलखाका निमित्त प्रमुख विशाल केसीका अनुसार उपनिर्वाचनमा १२ वटा मतदानस्थल रहने निश्चित भएपनि मतदान केन्द्रको भने टुँगो लाग्न बाँकी रहेको छ । निर्वाचन आयोगले गौरीशंकर गाउँपालिकाको मतदाता संख्या यकिन गरेपछि मात्रै मतदान केन्द्रको टुँगो लाग्ने छ । २०७९ साल मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गौरीशंकर गाउँपालिकामा २१ वटा मतदान केन्द्र थियो ।
गौरीशंकर गाउँपालिकाको उपनिर्वाचनकालागि मतदाताको अन्तिम नामावली पनि अझै टुँगो लागेको छैन । उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्दा कूल मतदाता संख्या १५ हजार ७१८ देखिए पनि दावी विरोध पछिको अन्तिम नामावली प्रकाशन भएको छैन । निर्वाचन कार्यालयका निमित्त प्रमुख केसीका अनुसार निर्वाचन आयोगले मतदाता नामावलीको अन्तिम सूची कार्तिक मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
२०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गौरीशंकरमा १५ हजार ५५४ जना मतदाता थिए । मतदाता नामावली अद्यावधिकको क्रममा १६४ मतदाता थपिएका छन् । जस अनुसार सवैभन्दा बढी वडा नम्बर ५ सुरीमा २७ सय ८१ र सवैभन्दा कम वडा नम्बर ९ गौरीशंकरमा ११ सय ४ जना मतदता छन् । वडा नम्बर १ जुँगुमा १५ सय ७३, वडा नम्बर २ मा १७ सय ६४, वडा नम्बर ३ झँयाकुमा १९ सय ६३, वडा नम्बर ४ मा २ हजार ६, वडा नम्बर ६ चंखुमा १३ सय ६२, वडा नम्बर ७ मार्वुमा १४ सय ५१ र वडा नम्बर ८ खारेमा १७ सय १४ जना मतदाता रहेका छन् ।
तर, निर्वाचन आयोगले दावी विरोधको अन्तिम टुँगो लगाए पछि यो सँख्या केही घट्न सक्ने छ ।