हेटौंडा । बागमती प्रदेशका एक जना मन्त्री नियुक्त भएको सय दिन वित्तिसक्दा समेत जिम्मेवारी विहिन बनेका छन् ।
विनाविभागीय मन्त्री मधुकुमार श्रेष्ठले मन्त्रीको शपथ लिएको १०० दिन कटिसक्दा पनि विभागीय जिम्मेवारी नपाएका हुन् । बागमती प्रदेश सरकार गठन भएको यही कात्र्तिक १६ गते एक सय दिन पूरा भइसकेको छ । गत साउन ९ मा गठित मुख्यमन्त्री बहादुर सिंह लामा नेतृत्वको एमाले–कांग्रेसको गठबन्धन सरकारले साउन १२ मा पूर्णता पाएको थियो ।
प्रदेश सरकारको तत्कालीन १३ मन्त्रालयमा मुख्यमन्त्री लामाले १४ मन्त्री नियुक्त गर्नुभएको थियो । तर, विनाविभागीय मन्त्री श्रेष्ठले अझै विभागीय जिम्मेवारी नपाउँदा दबाब बढेको छ । मन्त्रीको कार्यकक्ष र झण्डा फर्फराउँदै एउटा गाडी चढ्ने बाहेक मन्त्री श्रेष्ठले कुनै जिम्मेवारी पाएका छैनन्।
उनलाई विभागीय जिम्मेवारी दिनका लागि हाल रहेका मन्त्रालयहरूबाट विभाजन गरेर अर्को मन्त्रालय बनाउनुको विकल्प छैन। सोही अनुसार पछिल्लो पटक विभागीय जिम्मेवारी दिन मन्त्रालय फुटाउने तयारी गरिएको छ ।
मन्त्रीको शपथ लिएको १०० दिन कटिसक्दा पनि विभागीय जिम्मेवारी नपाएका श्रेष्ठलाई जिम्मेवारी दिन प्रदेश सरकार मन्त्रालय फुटाउने अन्तिम तयारीमा पुगेको हो । एमालेले जिम्मेवारी विहिन मन्त्रीको व्यवस्थापन मुख्यमन्त्री आफैंले गर्नुपर्ने भन्दै आएकोमा मुख्यमन्त्री बहादुरसिंह लामाले पार्टीको कोटामा परेको मन्त्रालय फुटाउने तयारी गरेका छन् ।
मन्त्री श्रेष्ठलाई मन्त्रालयको जिम्मेवारी दिन मुख्यमन्त्री लामालाई पार्टीको केन्द्रीय तहबाट समेत दाबाब आएको छ । विभागीय जिम्मेवारी दिने विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबीचमा दरार पैदा भएको छ। मन्त्री श्रेष्ठलाई विभागीय जिम्मेवारी दिने विषयमा दुई दलबीच सहमती नजुट्दा दरार सुरु भएको एमालेका सांसदहरू बताउँछन्।
उनलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने सर्तमा विनाविाभागीय मन्त्री बनाईएको बुझिएको छ । बिना विभगीय मन्त्री श्रेष्ठ आफूलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय दिने सर्तमा सरकारमा सहभागी गराएको बताएका छन्। फिल्म लाइनमा समेत आवद्ध मन्त्री श्रेष्ठलाई पर्यटन मन्त्रालय दिइने भन्ने निर्णय भैसकेको थियो।
तर कांग्रेसभित्रकै बिवाद मिलाउन उनलाई रित्तै राखेर मुख्यमन्त्री सहित अन्य ६ मन्त्रीलाई जिम्मेवारी तोकिएको थियो।