
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले वर्षा र हिमपातको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
हुस्सु, कुहिरो, वर्षा र हिमपातको असरले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयन क्षेत्रमा असर पर्न सक्ने र चिसो बढ्ने भन्दै विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो । विभागले आज बिहानै तीन दिनको मौसम पुर्वानुमान सम्बन्धि बुलेटिन जारी गर्दै आज र भोली वर्षा र हिमपात हुने प्रक्षेपण गरेको छ । हालको मौसमी प्रणालीको प्रभावले आज साँझदेखि भोली रातिसम्म सुदुरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हिमपात हुने मौसमविदहरुले बताएका छन् ।
यस्तै, गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम खालको हिमपात हुने प्रक्षेपण गरिएको छ । ती क्षेत्रमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । यो मौसमी प्रणालीको असरले तापक्रम समेत केही गिरावट आई चिसो बढ्ने महाशाखाले जनाएको छ ।
महाशाखाले यसअघि शुक्रबार नै विशेष हिउँदे बुलेटिन जारी गर्दै वर्षा र हिमपातको प्रक्षेपण सार्वजनिक गरेको थियो ।