images
images

दोलखा एमालेमा दुई समूहः दुलाललाई पोखरेल र श्रेष्ठलाई गुरुङको समर्थन

  • २५ पुष २०७८, आईतवार ०४:२५

दोलखा । नेकपा एमाले दोलखाको अध्यक्षका दुई जना प्रतिश्पर्धीलाई एमालेका दुई पोलिट्व्यूरो सदस्यको समर्थन देखिएको छ ।

एमाले पोलिट्व्यूरो सदस्य आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङले फरक–फरक उम्मेदवारलाई साथ दिएपछि त्यसको असर अन्य पदाधिकारी र जिल्ला कमिटी सदस्यका उम्मेदवारहरुसम्म परेको छ । उपाध्यक्ष, सचिव, उपसचिव र जिल्ला सदस्यमा समेत दुवै गुटका उम्मेदवारले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदधा प्रत्यासी नरवहादुर श्रेष्ठलाई एमाले पोलिट्व्यूरो सदस्य पार्वत गुरुङको र अर्का उम्मेदवार भरत दुलाललाई पोलिट्व्यूरो सदस्य आनन्दप्रसाद पोखरेलको साथ रहेको छ । नेता पोखरेलले दुलालको पक्षमा मुख नखोले पनि उनि निकट नेता तथा कार्यकर्ताहरु अध्यक्ष पदका प्रत्यासी दुलालको पक्षमा खुलेर प्रचारमा जुटेका छन् ।

यसअघि एमालेको जिल्ला अध्यक्षमा चार जना आकाँक्षि थिए । ती मध्ये भरत केसी र डवल पाण्डे पनि पछि हटेका छन् । उनीहरु दुवै जनाले अध्यक्ष पदका नरवहादुर श्रेष्ठलाई समर्थन गर्ने जनाएका छन् । केसी र पाण्डे दुवै जना पोलिट्व्यूरो सदस्य गुरुङ निकट हुन् । अध्यक्ष पदमा श्रेष्ठलाई सर्वसम्मत गराउन नेता गुरुङले गरेको प्रस्तावमा दुलालले समर्थन नगरेपछि आज नयाँ नेतृत्व चयनकालागि मतदान हुन लागेको हो । उपाध्यक्ष पदमा ५ जना उम्मेदवार भए पनि पोखरेल समूहको समर्थन रोचकुमारी चौंलागाईलाई रहेको छ भने गुरुङ समूहले राजेन्द्र मानन्धरलाई उपाध्यक्ष बनाउन खोजेका छन् ।

सचिव पदका उम्मेदवार होम पाठकको पक्षमा गुरुङ समूहका नेता कार्यकर्ताले खुलेर मत मागेका छन् भने अर्का उम्मेदवार हिरो थोकरको पक्षमा पोखरेल समूहले मत मागिरहेका छन् । थोकर जनजाति समुदायका नेता भएका कारण जनजाति नेता कार्यकर्ताहरुले पनि उनको पक्षमा माहौल खडा गर्ने प्रयास गरिरहेका छन् । पाठकलाई बिजयी गराउन सामाजिक सँघ÷संस्थामा आवद्ध रहेका एमाले प्रतिनिधिहरु बढी सक्रिय देखिएका छन् । उप–सचिव पदमा धेरै उम्मेदवार भएका कारण नेताहरु व्यक्ति व्यक्तिमा खुलेर लागेका छैनन् ।