images
images

बागमतीमा माओवादीका जम्मरकट्टेल मुख्यमन्त्री बन्दै, कुन–कुन प्रदेशबाट को बन्दैछन् ?

  • २५ पुष २०७९, सोमबार ०८:२२

जिरी (दोलखा) । प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ ।

प्रदेश सरकारमा धमाधम नयाँ मुख्य मन्त्री नियुक्त गर्ने क्रम सुरु भएको हो । प्रदेश १ मा हिजो मुख्यमन्त्री नियुक्त गरिएको छ भने केही प्रदेशमा आज र केहीमा २७ गतेसम्म नयाँ मुख्यमन्त्री चयन हुनेछन् । सबै प्रदेशका लागि सत्ता साझेदार दलहरुले मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा पनि मिलाएको छ । सहमतिअनुसार प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णालीमा पूरै कार्यकाल एकल नेतृत्वको सरकार बन्ने छ भने मधेस, बाग्मती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आलोपालो हुनेछ । जसअनुसार मधेस प्रदेशमा जनता समाजवादी पार्टी जसपा र जनमत पार्टीले मुख्यमन्त्रीमा आलोपालो गर्नेछ । मुख्यमन्त्रीसँगै उपसभामुख पनि हेरफेर हुनेछ भने सभामुख भने ५ वर्ष नै एमालेले पाउने भएको छ । सुरुमा जसपाले सरकारको नेतृत्व गर्ने भएपनि जसपामा संसदीय दलको नेता चयन हुन बाँकी रहेकाले को मुख्यमन्त्री बन्दैछन् भन्ने कुरा खुल्न बाँकी छ ।

यसैगरी नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल बागमती प्रदेशको चौथो मुख्यमन्त्री बन्ने भएका छन् । बागमती प्रदेश माओवादी संसदीय दलका नेता रहेका जम्मकट्टेल प्रदेशको चौथो मुख्यमन्त्री बन्ने पक्का भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रहेका जम्मकट्टेल यसअघि २०७४ सालमा नेकपाको सरकार हुँदा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । नेकपा विभाजन हुँदा उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । २०७४ सालको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ को प्रदेशसभा (२) बाट निर्वाचित भएका जम्मकट्टेल मंसिर ४ मा भएको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । बाग्मती प्रदेशमा मुख्यमन्त्री र उपसभामुखमा एमाले र माओवादी केन्द्रबीच आलोपालो हुने सहमति भएको छ । पहिलो चरणमा माओवादीले मुख्यमन्त्री र एमालेले उपसभामुख लिने भएपछि जम्मरकट्टेल आज मुख्यमन्त्री बन्न लागेका हुन् ।

गण्डकी प्रदेशमा एमालेले ५ वर्ष मुख्यमन्त्री पाउने भएको छ । सोही अनुसार एमाले संसदीय दलका नेता खगराज अधिकारी आज मुख्यमन्त्रीमा नियुक्त हुँदै छन् । यो प्रदेशमा सभामुख माओवादी र उपसभामुख एमालेले लिने सहमति भएको छ । लुम्बिनीमा एमाले संसदीय दलका नेता लीला गिरी पाँचौं वर्ष मुख्यमन्त्री बन्नेछन् । लुम्बिनीमा माओवादीले सभामुख र राप्रपाले उपसभामुख पाउने सहमति छ । कर्णाली प्रदेशमा माओवादीले ५ वर्ष मुख्यमन्त्री चलाउने सहमति भएको छ । सोहीअनुसार माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री बन्दैछन् । त्यहाँ एमालेले सभामुख र माओवादी केन्द्रले उपसभामुख पाउने भएको छ ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री र सभामुखमा एमाले र माओवादी केन्द्रबीच आलोपालो हुने सहमति भए अनुसार पहिलो चरणमा एमालेका राजेन्द्रबहादुर रावल मुख्यमन्त्री बन्दैछन् । अढाई वर्षपछि भने माओवादीका खगराज भट्ट मुख्यमन्त्री बन्नेछन् । सुदूरपश्चिम नागरिक उन्मुक्ति पार्टीलाई उपसभामुख दिने सहमति भएको छ ।