
काठमाडौं । न्याय सेवा आयोगले २६९ कर्मचारीको सरुवा तथा बढुवा गरेको छ । न्याय सेवा आयोगले २ सय १९ कर्मचारीको सरुवा र ५० जनाको बढुवा गरेको हो ।
आयोगले आज उच्च अदालत पोखरा, दिपायल, विराटनगरसँगै जिल्ला अदालतहरू सिन्धुपाल्चोक, महोत्तरी, नुवाकोट लगायत कार्यालयहरूमा न्याय सेवाका कर्मचारी सरुवा गरेको हो । सर्वोच्च अदालतका इजलास अधिकृत मुकुन्द आचार्यलाई उच्च अदालत पोखराको वाग्लुङ इजलासमा रजिस्ट्रार, सर्वोच्चकै अर्का इजलास अधिकृत रातादत्त बडुलाई उच्च अदालत दिपायलको उपरजिष्ट्रार र उच्च अदालत पाटनका उपरजिष्ट्रार विष्णु प्रसाद पाण्डेयलाई उच्च अदालत विराटनगरको स्थायी इजलास ओखलढुंगामा रजिष्ट्रारको रूपमा सरुवा गरेको छ ।
यस्तै, सर्वोच्च अदालतका शाखा अधिकृत पुष्कर थापालाई बारा जिल्ला अदालत, उच्च अदालत पाटनको हेटौँडा इजलासका इजलास अधिकृत हरिनारायण ज्ञवालीको डोल्पा जिल्ला अदालतमा तहसिलदारको रूपमा सरुवा गरेको छ । आयोगले सुर्खेत, मुगु, बाँके लगायत जिल्ला अदालतहरूमा शाखा अधिकृतको सरुवा गरेको छ ।
आयोगले कानुन समूहका अर्जुन प्रसाद खनाल र राजन नेपाललाई कानुन समूह राप्र प्रथम श्रेणी सहसचिव वा सो सरहमा बढुवा गरेको छ भने सरकारी वकिल तर्फ रुद्र प्रसाद पन्थी र उमाकान्त पौडेललाई राप्र प्रथम श्रेणी सहसचिव वा सो सरहमा बढुवा गरिएको छ । आयोगले न्याय समूहका उपसचिव वा सो सरहका पदमा १४ जनाको बढुवा गरेको छ भने कानुन समूहका तीन जना र सरकारी वकिल समूहका ६ जनलाई उपसचिव सरहमा बढुवा गरेको छ ।