दोलखा । दोलखा उद्योग वाणिज्य संघले आयोजना गरेको ‘दोलखा महोत्सव–२०८०’ आजवाट सकिएको छ ।
सदरमुकाम चरिकोटस्थित टुँडिखेल मैदानमा आयोजना गरिएको महोत्सव आजवाट सकिएको हो ।
पुस १३ गतेदेखि पुस २२ गतेसम्मकालागि आयोजना गरिएको महोत्सव २ दिन थप गरिएको थियो । आयोजक दोलखा उद्योग वाणिज्य संघले आज समापन समारोहको आयोजना गरी महोत्सव सकिएको घोषणा गरेको छ । महोत्सव समापन समारोहलाई सम्वोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका नगर उपाध्यक्ष सुरकृष्ण वैधले मेला, महोत्सवले मुलुकमा सुस्ताएको व्यापार, व्यवसायमा थोरै भएपनि चहलपहल ल्याएको बताउनुभयो । कार्यक्रममा बोल्दै पूर्व पर्यटनमन्त्री एवँ नेकपा एमालेका पोलिट्व्युरो सदस्य आनन्दप्रसाद पोखरेलले महोत्सवले साना घरेलु व्यवसायी, उद्यमी र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुर्याउनु पर्नेमा जोड दिनुभयो ।
आयोजक दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रकुमार श्रेष्ठले महोत्सवमा दैनिक ४० लाखका दरले कारोवार भएको र एक लाख बढीले अवलोकन गरेको दावी गर्नुभयो । उहाँले आगामी वर्ष २०८१ सालको कार्तिक ३० देखि मंसिर १५ गतेसम्म पनि महोत्सवका आयोजना गर्ने जानकारी दिनुभयो । यो वर्षको दोलखा महोत्सव सफल भएको आयोजकले दावी गरेपनि महोत्सव अवधिभर जिल्ला वाहिरका पर्यटकलाई आकर्षित गर्न नसकिएको गुनासो छ । महोत्सवकै बेला सदरमुकाम चरिकोटमा होटल, लजहरु खाली हुनु बिडम्वना भएको पर्यटन व्यवसायीको भनाई छ ।











