काठमाडौं । तपस्वीको भेषमा विभिन्न ठाउँमा आश्रम खोल्दै आएका रामबहादुर बमजन पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का डिएसपी धर्मराज भण्डारीको नेतृत्वको टोली बमजनलाई पक्राउ गरेको हो । बमजन पछिल्लो दुई महिनादेखि काठमाडौंमा बस्दै आएको भन्ने सूचना प्राप्त भएपछि अनुसन्धान र निगरानी गरी उनलाई आज बुढानिलकण्ठको हात्तीगौडास्थित घरबाटै पक्राउ गरिएको सिआइबी प्रमुख एवं एआइजी किरण बज्राचार्यले बताउनुभयो ।
सुरुमा पक्राउ गर्न प्रहरीको टोली पुग्दा उनी भाग्न खोजेका थिए । प्रहरी देखेपछि बोम्जन दुई तलामाथिबाट हामफालेका थिए । उनकी श्रीमती लगायतले पनि प्रहरीलाई रोक्न हरसम्भव कोसिस गरेका थिए । तर, उनीहरुको सो कोसिस सफल हुन सकेन । उनी घरमा आफ्नी श्रीमती र छोराछोरीसँग बस्दै आएका थिए । बमजन भाग्न लागेपछि प्रहरीले उनलाई तत्काल पक्राउ गरेको बताएको छ ।
बमजनमाथि यौन शोषण, बलात्कार र आनीहरूलाई बेपत्ता बनाएको आरोप छ। उनीविरूद्ध पाँच परिवारले उजुरी दिएका थिए । आफ्नो आश्रममा बस्दै आएका तीन जना युवती र दुई युवालाई बेपत्ता पारेको उजुरी विभिन्न प्रहरी कार्यालयमा दर्ता भएको थियो । तीमध्ये एक जनालाई उनले सिन्धुपाल्चोकस्थित आश्रममा हत्या गरी शवसम्म बेपत्ता पारेको आरोप लागेको छ । उनीमाथि आश्रममा बस्ने युवती र युवकहरू बेपत्ता पारेको भन्दै उजुरी परेका थिए । तर उनी लामो समयदेखि फरार रहँदै आएका थिए ।
प्रहरीको टोली पटकपटक उनको आश्रममा पनि पुग्ने गरेको छ । तर पनि लामो अनुसन्धाका क्रममा समेत प्रहरीले उनलाई पत्ता लगाउन सकेको थिएन । पक्राउ परेपछि गरिएको प्रारम्भिक सोधपुछमा उनले आफू कहिले सिन्धुली र कहिले मकवानपुरको जंगलमा बस्दै आएको खुलाएर छन् । पछिल्लो समय दुई महिनायता काठमाडौं रहेको खुलेको छ ।










