
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिहा भएका छन् ।
सभापति लामिछाने ८४ दिनपछि कास्की प्रहरीको हिरासतबाट रिहा भएका हुन् । सभापति लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न कास्की जिल्ला अदालतले आदेश दिएको हो । धरौटिमा रिहा हुने आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर सभापति लामिछाने रिहा भएका हुन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले गत कात्तिक २ गते राति काठमाडौंको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)को कार्यालयबाट पक्राउ गरेर पोखरा पु¥याएको थियो । कार्तिक ३ गते शनिबार परेकाले ४ गते आइतबार मात्र म्याद लिनका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराएको थियो ।
पक्राउ परेपछि सभापति लामिछानेलाई बुटवलको सुप्रिम सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको सहारा चितवन र वीरगन्जको सानो पाइला सहकारीको रकम ठगी गरेको आरोपमा उनीसँग सम्बन्धित जिल्लाका प्रहरीले सरकारी वकिलको रोहबरमा बयान लिएका थिए ।
सभापति लामिछानेलाई पटकपटक म्याद थप्दै हिरासतमा राखेर अनुसन्धान गरिएको थियो । लामो अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले पुस ७ गते उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरी तीनवटा मुद्दा दर्ता गरिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपलचनमा तीन करोड ३७ लाख ६५ हजार, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार सात सय पाँँच रुपैयाँ बिगो दाबी गरेको हो ।
पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको संसदीय समितिको अनुसन्धानबाट खुलेको छ ।