काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना महामारीले पठनपाठन प्रभावित भएको भन्दै बोर्डले नियमित समय भन्दा एक महिना ढिलो हुने गरी परीक्षा सञ्चालन गर्न लागेको हो । स्थानीय तहको निर्वाचनको मितिसँग तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गर्रिको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षाको समयतालिका भने बोर्डको वेबसाइटमा सार्वजनिक गरिनेछ ।
यो वर्षको एसईईमा ५ लाख ८ हजार विद्यार्थी सहभागी हुने प्रारम्भिक अनुमान गरिएको छ । यसअघि नियमित तालिका अनुसार चैतमा एसईई परीक्षा हुने गरेपनि कोरोनाले पठनपाठनमा असर गरेका कारण चैतभर कक्षा सञ्चालन गरेर वैशाखमा परीक्षा गर्न लागिएको हो । गत दुई वर्ष भने कोभिडका कारण आन्तरिक मुल्यांकनका आधारमा नतिजा प्रमाणीकरण गरिएको थियो ।