images
images

असारे विकास अन्त्य गर्ने जिरी नगरपालिकाको नीतिः फागुनसम्म योजना सम्झौता, जेठभित्रै भुक्तानी

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकाले फागुन मसान्तपछि कुनै पनि विकास निर्माणका योजनाको सम्झौता नगर्ने भएको छ ।

आर्थिक वर्षको अन्त्यमा गरिने विकास निर्माणका कामलाई निरुत्साहित गर्नकालागि जिरी नगरपालिकाले फागुन मसान्तभित्र चालु वर्ष संचालन हुने सवै योजनाको सम्झौता गरिसक्ने नीति लिएको हो । नगर कार्यपालिकाको वैठकले विकास निर्माणका योजनालाई पारदर्शी र गुणस्तरीय बनाउनकालागि समयमै योजना सम्झौता गरी काम गर्ने नीति लिएको र सोही अनुसार फागुन मसान्तसम्म मात्रै योजनाको सम्झौता हुने प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सापकोटाले बताउनुभयो । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी फागुन महिनाभित्र बढी भन्दा बढी लाभग्राहीको उपस्थितीमा उपभोक्ता समिति गठन गरी योजना सम्झौता गर्न भनेको छ ।

गत भदौ महिनामा जिरी नगरकार्यपालिकाको वैठकले वार्षिक योजना एवँ कार्यक्रम कार्यान्वयन कार्यतालिका २०८० स्विकृत गरेको छ । सो कार्यतालिका अनुसार फागुन मसान्तसम्म योजना सम्झौता र जेठ मसान्तसम्म सवै योजनाको अन्तिम भुक्तानी गरिसक्ने उल्लेख छ । प्रमुख प्रशासकीय अधिकृत सापकोटाले ‘समयमै सम्झौता, समयमै काम र समयमै भुक्तानी गर्ने’ नीति रहेको स्पस्ट पार्नुभयो । जस अनुसार जिरी नगरपालिकाले नगरपालिकाका सवै वडामा घुम्ति शिविरको आयोजना गरेर करिव एक सयवटा योजनाको फिल्डमै सम्झौता गराएको थियो ।

गत भदौ महिनामा जिरी नगरकार्यपालिकाको वैठकले वार्षिक योजना एवँ कार्यक्रम कार्यान्वयन कार्यतालिका २०८० स्विकृत गरेको छ । सो कार्यतालिका अनुसार फागुन मसान्तसम्म योजना सम्झौता र जेठ मसान्तसम्म सवै योजनाको अन्तिम भुक्तानी गरिसक्ने उल्लेख छ ।

जिरी नगरपालिकाका नगर प्रमुख मित्रवहादुर जिरेलले असारे विकासको अन्त्य गरी विकास निर्माणका काममा गुणस्तरीयता कायम गर्न यस्तो नीति अख्तियार गरिएको जानकारी दिनुभयो । जिरी नगरपालिकामा चालु वर्ष २३५ वटा विकास निर्माणका योजना संचालन हुने छन् । ती मध्ये हालसम्म १३३ वटा योजना सम्झौता भएकोमा ६५ योजनाको काम सम्पन्न भई भुक्तानी भइसकेको र १०२ योजनाको अझै सम्झौता बाँकी रहेको छ । प्रमुख प्रशासकीय अधिकृत सापकोटाले साना योजनाहरु उपभोक्ता मार्फत र ठूला योजनाहरु ठेक्का प्रक्रिया मार्फत कार्यान्वयन भइरहेको बताउनुभयो ।

जिरी नगरपालिले चालु वर्ष ५३ करोड ३ लाख २३ हजार बराबरको बजेट ल्याएको थियो । त्यस मध्ये चालुतर्फ ३५ करोड ४२ लाख २३ हजार र पूँजिगततर्फ १७ करोड ६० लाख ९९ हजार बजेट रहेको छ ।