images
images

गौरीशंकर गाउँपालिकामा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन घाईते

  • २५ फाल्गुन २०७८, बुधबार १६:१६

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकामा ट्याक्टर दुर्घटना परी एक पुरुषको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।

घाईतेमध्ये दुई जनाको अवस्था गम्भिर छ । दुर्घटनामा परी गौरीशंकर गाउँपालिका वडा नम्बर ४ पाल्दुङपोखरीका ३३ वर्षिय लिलाबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको हो । गौरीशंकर गाउँपालिका वडा नम्बर ४ गोर्पाङबाट ढुंगा लिएर झ्याकुतर्फ जाँदै गरेको ना ६ त २७७५ नम्बरको ट्याक्टर कोठेगैरोमा दुर्घटना भएको हो । दुर्घटनामा परी वडा नम्बर ४ गोर्पाङका १५ वर्षिय ङाङ छुङगु शेर्पा, सोही स्थानका २१ वर्षिय आङ फुर्वा शेर्पा र ५० वर्षिय पछिरि शेर्पा घाईते भएका छन् । त्यसमध्ये ङाङ छुङगु शेर्पा र आङ फुर्वा शेर्पाको अवस्था गम्भिर छ ।

गम्भिर घाईते ङाङ छुङगुलाई सिंगटी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा रिफर गरिएको छ भने आङ फुर्वाको सिंगटी अस्पतालमा उपचार भइरहेको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक अञ्जन कोइरालाले जानकारी दिनुभयो । ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेको थियो । गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वयम बहादुर खड्काले ट्याक्टर टुक्राटुक्रा भएको बताउनुभयो ।  दुर्घटनामा परेका चारै जना वडा कार्यालयको भवन निर्माणमा मेसिनरी वाल लगाउने काम गर्दै आएका थिए ।

फाइल तस्विरः