images
images

माओवादीको पक्षमा माहौल बढेको छ, आफ्नै ताकतमा चुनाव जित्ने तयारी गरौंः प्रचण्ड

  • २५ फाल्गुन २०७८, बुधबार २१:२३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्य दलसंगको तालमेल भन्दा पनि आफ्नै ताकतमा जित्ने गरी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिले ललितपुरको गोदावरीमा आज आयोजना गरेको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नै खुट्टामा उभिएर आफ्नै ताकतमा निर्वाचन जित्ने गरी लागि पर्न निर्देशन दिनुभएको हो । निर्वाचन पनि एक प्रकारको युद्ध भएको भन्दै प्रचण्डले स्थानीय तहको निर्वाचनकालागि चुनावी कमाण्ड बनाएर शान्तिपूर्ण लडाई लड्नु पर्ने बताउनुभयो । शान्ति प्रक्रिया लगत्तै भएको २०६४ को निर्वाचन कमाण्डमा भएकाले सफलता हात परे पनि २०७० र २०७४ सालको निर्वाचनमा कमाण्ड भत्किएका कारण परिणाम कमजोर हुन पुगेको उल्लेख गर्नुभयो ।

बागमती प्रदेशका १३ जिल्लाका नेता तथा कार्यकर्ता सम्मिलित प्रशिक्षण भेलालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले अवको निर्वाचनलाई युद्ध र अभियानकोरुपमा कमाण्ड सिस्टम बनाएर आक्रमक ढँगले लड्न निर्देशन दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सत्ता गठबन्धनवीच चुनावी तालमेलको कुरा स्वभाविक भएपनि नेपाली कांग्रेसको एक समूह तालमेलका लागि अनिच्छुक देखिएको भन्दै उहाँले रुचि नहुनेसँग तालमेल गर्न जरुरी नरहेको धारणा राख्नुभयो । ‘तालमेल मात्र होईन आफ्नै ताकतमा चुनाव जित्नेगरी तयारी गरौं,’ प्रचण्डले भन्नुभयो, ‘माओवादीको पक्षमा अहिले माहौल राम्रो छ, मधेशमा पार्टी प्रवेश गर्नेको लर्को छ ।’

प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वलाई बदनाम गराउने, घेरावन्दी गर्ने र सखाप पार्ने षड्यन्त्र जारी रहेको उल्लेख गर्दै त्यसलाई तोडेर अघि बढ्ने बताउनुभयो । अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई प्रतिनिधि सभावाट १२ बुदे व्याख्यात्मक विश्लेषणसहित पास गरेर देशलाई दुर्घटनावाट बचाएको प्रचण्डको दावी छ । कांग्रेस जस्ताको तस्तै एमसीसी पास गर्न तयार भएको र एमाले मतियार बनेर एमसीसी अनुमोदन गरेर गठबन्धनलाई भत्काउने षड्यन्त्रमा लागेपछि माओवादीले व्याख्यात्मक बिश्लेषणसहित पास गर्ने उपाय अवलम्वन गर्नु परेको उहाँको भनाई थियो । माओवादी एमसीसीको बिपक्षमा उभिए पनि बहुमतले पारित हुने, सत्ता गठबन्धन टुट्ने र त्यसपछि हुने प्रतिगमनले संबिद्यान ध्वस्त पारेर माओवादी माथि दमन गर्दै शान्ति प्रक्रिया फेल हुने अवस्था आएको प्रचण्डले नेता कार्यकर्तालाई जानकारी गराउनुभयो । ‘सवै उपलव्धि गुम्ने र पुनः लामो लडाई लड्नु पर्ने अवस्था आएपछि देशलाई ठूलो दुर्घटना हुनवाट जोगाउने उपाय निकालिएको हो,’ अध्यक्ष प्रचण्डले भावूक मुद्रामा भन्नुभयो, ‘गल्ति गरियो या सहि निर्णय । निश्कर्ष तँपाईहरुकै हातमा छ ।’

माओवादी अध्यक्ष प्रचण्डले एमसीसी संसदवाट पारित भएपछि पार्टी भित्र गम्भिर मतभेद रहेको स्विकार गर्दै फरक मतलाई पार्टीले सम्मान गर्ने बताउनुभयो । उहाँले एमसीसीका बारेमा देखिएका मतभेद र फरक मतलाई निर्वाचनपछि व्यापक बहशका साथ नयाँ संकल्पमा पुग्ने धारणा राख्नुभयो । प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीका बारेमा पार्टीभित्र मतभेद कायम रहेपछि तत्कालका लागि थाँति राखेर चुनावमा होमिने र पछि छलफल गर्ने सहमति भएको बताउनुभएको थियो ।

माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक सकिए लगत्तै पहिलो पटक बागमती प्रदेशको चुनाव केन्द्रित प्रशिक्षणात्मक भेलाको आयोजना गरेको हो । बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्रीको अध्यक्षतामा भएको प्रशिक्षण भेलामा बागमती प्रदेशका १३ जिल्लाका करिव २५ सय नेता तथा कार्यकर्ता सहभागि थिए । भेलामा बागमती प्रदेश इन्चार्ज हितमान साक्यले प्रदेशका जिल्लाहरुमा गरिने चुनावी रणनीतिका बारेमा जानकारी गराउनुभएको थियो ।