
काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ ।
निर्वाचन आयोगले संसद भवन नयाँ बानेश्वरमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवाचन्द्र नेम्वाङ उम्मेदवार छन् । निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको हलमा मतगणना सुरु गर्ने र आजै बेलुकी ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो ।
संघीय सांसद र प्रदेशसभा सदस्यहरुले निर्वाचनमा भाग लिनेछन । संघीय सांसदहरुका लागि रातो र प्रदेशसभा सदस्यहरुका लागि हरियो रंगको मतपत्र बनाईएको छ । मतपत्रमा उम्मेदवारहरुको नामसहित फोटो पनि राखिएको छ । संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ रहेको छ । निर्वाचनलाई लक्षित गरी संसद भवन भित्र र बाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव हुन् । कांग्रेसबाट चुनिएका यादवको कार्यकाल २०६५ साल साउन ८ गतेदेखि २०७२ कात्तिक ११ गतेसम्म थियो । दोस्रो राष्ट्रपतिको रुपमा नेकपा एमालेबाट विद्यादेवि भण्डारी २०७२ कात्तिक ११ गते निर्वाचित हुनुभएको थियो । भण्डारीको लगातार दुई कार्यकाल यही फागुन २८ गते सकिने भएकाले नयाँ राष्ट्रपति चयन गर्न लागिएको हो । उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गते हुनेछ ।