images
images

तामाकोशी गाउँपालिकाका विद्यार्थीलाई शैक्षिक अनुदान, ३७ सय विद्यार्थी लाभान्वित हुने

  • २६ चैत्र २०७९, आईतवार ०९:४४

दोलखा । दोलखाको तामाकोशी गाउँपालिकाले चालु आर्थिक वर्षदेखि शैक्षिक बचत कार्यक्रम लागु गरेको छ ।

पालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि चालु आर्थिक वर्षदेखि शैक्षिक बचत कार्यक्रम सञ्चालन गरेको हो । यो कार्यक्रम तामाकोशी गाउँपालिकाका ३४ वटा सामुदायिक विद्यालयमा लागु भएको छ । तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताव केसीले पालिकामा रहेका ३४ वटा सामुदायिक विद्यालयमा चालु आर्थिक वर्षदेखि शैक्षिक बचत कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार शैक्षिक बचत कार्यक्रम लागु भएका ३४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत बालवालिकाका अभिभावकले मासिक रुपमा आफ्ना बालवालिकाको नाममा एक सय रुपैँयाका दरले बचत गर्नुपर्ने छ भने सोही बराबर रकम गाउँपालिकाले विद्यार्थीको खातामा जम्मा गरिदिनेछ । बालकक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीका लागि यो कार्यक्रम लागु गरिएको हो । तामाकोशी गाउँपालिकाभित्रका ३४ वटा सामुदायिक विद्यालयमा करिव ३७ सय विद्यार्थी अध्ययनरत छन् ।

चालु आर्थिक वर्ष गाउँपालिकाले शैक्षिक बचत कार्यक्रम कार्यान्वयनका लागि ४८ लाख बजेट विनियोजन गरेको छ । तामाकोशी गाउँपालिकाले विद्यालय भर्ना अभियानलाई प्रभावकारी बनाउन, विद्यार्थीले विचमै पढाई छोड्ने वातावरणको अन्त्य गर्न र भविष्यमा बचत गर्ने बानीको विकास गराउन चालु आर्थिक वर्षदेखि शैक्षिक बचत कार्यक्रम ल्याएको हो । यो कार्यक्रमले कक्षा १२ पास गरेपछि उच्च शिक्षाका लागि सहयोग पुग्ने र उच्च शिक्षा अध्ययन नगर्नेहरुले व्यवसायमा लगानी गर्न पाउने भएकाले प्रभावकारी बन्ने गाउँपालिकाको अपेक्षा छ ।

शैक्षिक बचत कार्यक्रम कार्यान्वयनका लागि गाउँपालिकाले पालिकाभित्रका ७ वटा सहकारी संस्थालाई छनोट गरेको छ । जसअनुसार वडा नम्बर १ का नागरिकले आफ्नो बालबालिकाको बचतका लागि भिमेश्वर बहुदेश्यीय सहकारी संस्थामा खाता खोल्नुपर्नेछ भने वडा नम्बर २ का स्थानीयले झुले मिलन बचत तथा ऋण सहकारी संस्था, ३ मा जनश्रमिक बचत तथा ऋण सहकारी, ४ मा गढीमाई बचत तथा ऋण सहकारी संस्था, ५ मा महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था, ६ मा प्रगतिशिल बचत तथा ऋण सहकारी संस्था र वडा नम्बर ७ का स्थानीयले मितेरी बचत तथा ऋण सहकारी संस्थामा रकम बचत गर्नुपर्नेछ ।