images
images

बागमतीमा समपुरक अनुदानको कार्यबिधि तयार, दोलखाका स्थानीय तह कुन वर्गमा ?

  • २७ चैत्र २०८१, बुधबार १९:३४

काठमाडौँ । बागमती प्रदेश सरकारले स्थानीय तहहरुलाई वितरण गर्ने समपुरक अनुदानको कार्यबिधि तयार गरेको छ ।

बागमती प्रदेश सरकारले स्थानीय तहहरुलाई वितरण गर्ने समपुरक अनुदान को कार्यविधि तयार गरेको हो । प्रदेश वित्तीय हस्तान्तरण ऐन –२०७५ को दफा ६को उपदफा ४ ले दिएको अधिकार प्रयोग गरी समपुरक अनुदान प्रदान गर्न बागमती प्रदेश सरकारले प्रदेश समपुरक अनुदानसम्बन्धी कार्यविधि तयार गरेको हो ।

कार्यविधिअनुसार क वर्गमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका, धादिङको रुभीभ्याली गाउँपालिका, रसुवाको नौकुण्ड गाउँपालिका, रामेछापको उमाकुण्ड गाउँपालिका र दोरम्बा गाउँपालिका गरी ५ स्थानीय तह परेका छन् ।

यस वर्गमा पर्ने स्थानीय तहले आफ्नो २० प्रतिशत मात्र लागत साझेदारीमा समपूरक अनुदान कार्यान्वयन गर्न सक्नेछन्। यी स्थानीय तहहरूको लागि ८० प्रतिशत अनुदान प्रदेश सरकारले उपलब्ध गराउने प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

दोलखाको गौरीशंकर गाउँपालिका, बिगु र मेलुङ गाउँपालिका सहित १९ वटा स्थानीय तहहरुलाई ख बर्गमा बर्गीकरण गरिएको छ । यो वर्षमा पर्ने स्थानीय तहले ३० प्रतिशत स्थानीय तहको र ७० प्रतिशत प्रदेश सरकारको अनुदानबाट योजना सञ्चालन गर्नेछन् ।

यस्तै, कालिञ्चोक र शैलुङ गाउँपालिका सहित २७ स्थानीय तह ग वर्गमा परेका छन् । ग बर्गमा पर्ने स्थानीय तहहरुले प्रदेश सरकारबाट ६० र पालिकाको ४० प्रतिशत समपुरक अनुदानमा योजना सञ्चालन गर्नेछन् ।

प्रदेश सरकारले छुट्याईएको कार्यबिधि अनुसार प्रदेशका ११९ स्थानीय तहहरुमध्ये दोलखाको तामाकोशी, बैतेश्वर गाउँपालिका र जिरी नगरपालिका सहित २३ स्थानीय तह ‘घ बर्गमा परेका छन् ।‘घ’ वर्गमा पर्ने स्थानीय तहहरूले समपूरक अनुदानको बजेटमा प्रदेश र स्थानीय सरकारको ५०र५० प्रतिशत लागत सहभागितामा योजना कार्यान्वयन गर्नेछन्।

प्रदेश सरकारको प्रदेश समपूरक अनुदान कार्यविधि २०८१ अनुसार दोलखाको भीमेश्वर नगरपालिका सहित बागमतीका २० स्थानीय तहलाई ‘ङ’ वर्गमा वर्गीकरण गरिएको छ। यस वर्गमा पर्ने स्थानीय तहहरूले स्थानीय तहको ६० र प्रदेश सरकारको ४० प्रतिशत लागत सहभागीतामा योजना कार्यान्वयन गर्नेछन्।