images
images

ओली र लेखक १३ दिनपछि हिरासतमुक्त, परिवारको जिम्मा लगाइयो

  • २६ चैत्र २०८२, बिहीबार ११:३२

भक्तपुर । प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको १३ औँ दिनमा हिरासतमुक्त भएका छन् ।

भदौ २३ र २४ को घटनामा संलग्नताको आरोपमा १३ दिनअघि पक्राउ परेका उनीहरुलाई प्रहरीले हिरासतमुक्त गरेको हो । गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिसमा चैत १४ गते पक्राउ परेका दुवै नेतालाई ‘खोजेका बखत उपस्थित हुने’ सर्तसहित हाजिर जमानीमा छाडिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार, अनुसन्धानको प्रक्रिया जारी नै रहने भए पनि सर्वोच्च अदालतको पछिल्लो आदेश र कानुनी प्रावधानलाई ध्यानमा राख्दै उनीहरूलाई परिवारको जिम्मा लगाइएको हो ।

हिरासतमुक्त हुने क्रममा एमाले अध्यक्ष ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको छ भने कांग्रेस नेता लेखकलाई उनकी पत्नी यशोदा लेखकको जिम्मामा छाडिएको छ । पक्राउ परेदेखि नै त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्योपचार गराइरहेका ओलीको हकमा कागजी प्रक्रिया पूरा भए पनि उनको डिस्चार्जको निर्णय भने चिकित्सकहरूको सल्लाहमा मात्र हुनेछ ।

अर्कातर्फ, महाराजगन्जस्थित नम्बर–२ सशस्त्र प्रहरी गणमा राखिएका लेखक भने रिहाइ प्रक्रियापछि गणबाट बाहिरिएका छन् । दुवै नेताहरूले अब बाहिरै बसेर अनुसन्धानमा सघाउनु पर्नेछ ।

यो रिहाइको मुख्य आधार सर्वोच्च अदालतको त्यो परमादेश बनेको छ, जसले अनुसन्धानका लागि लामो समय थुनामै राख्न आवश्यक नरहेको र फौजदारी कार्यविधि संहिताको दफा १५ बमोजिम प्रक्रिया पुर्‍याएर अनुसन्धान गर्न बाटो खोलेको थियो ।