images
images

भीमेश्वरमा गठबन्धन बलियो छ,चुनाव जित्छौंः नगरउप्रमुखकी उम्मेदवार तमाङ

  • २६ बैशाख २०७९, सोमबार ०८:३०

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट उपमेयरकी उम्मेदवार संगीता तमाङले नगरक्षेत्रमा नेकपा एमालेको लालकिल्ला ढलिसकेको अवस्थामा गठबन्धनले सहजै जित हात पार्ने दावि गर्नुभएको छ ।

हाम्रो रेडियोको कार्यक्रम स्थानीय तह निर्वाचन विशेषमा कुराकानी गर्दै उपमेयरकी उम्मेदवार तमाङले यस्तो दावि गर्नुभएको हो । केन्द्रदेखि कमजोर बनेको एमाले भीमेश्वर क्षेत्रमा पनि कमजोर बनेको उहाँको भनाई छ । नगर क्षेत्रमा गठबन्धनले मत सर्वेक्षण गरेर अघि बढेको अवस्थामा एमालेको हार निश्चित भइसकेको भन्दै उहाँले हार स्विकार गर्न एमाले तयार हुनुपर्ने बताउनुभयो । भीमेश्वरका ९ वटै वटामा गठबन्धनमा माहोल राम्रो रहेको उल्लेख गर्दै उहाँले निर्वाचनमा आफुहरुको विजयी निश्चित भइसकेको बताउनुभएको छ । जनमतको आधारमा गठबन्धनले जित हात पार्ने भन्दै नेतृ तमाङले घरदैलो अभियानमा टोलटोलमा पुग्दा थप उत्साह पैदा भएको बताउनुभयो । आफुले युवा, महिला, जनजाति र दलितको आवाज उठाउन उम्मेदवारी दिएको बताउँदै उहाँले स्थानीय तह निर्वाचनमा सहयोग गर्न नगरवासिलाई अपिल गर्नुभयो ।

अर्को प्रसंगमा नगरउपप्रमुखकी उम्मेदवार तमाङले भीमेश्वर क्षेत्रमा नेकपा एकिकृत समाजवादीको माहोल अत्यन्तै राम्रो भएको जिकिर गर्नुभयो । नेकपा एमालेमा व्यक्तिवादी हावि भएर संस्था मर्दै गएको अवस्थामा नेकपा एसप्रति जनताको आकर्षण निकै बढेको उहाँले दावि गर्नुभयो । घरदैलो अभियानका क्रममा गाउँबस्तीमा पुग्दा नेकपा एसको विचारप्रति नगरवासी सकारात्मक रहेको बताउँदै उहाँले निर्वाचनमा आफुलाई नगरवासीले मतदान गरेर विजयी गराउने विश्वास व्यक्त गर्नुभयो । एमालेमा विचारमा छलफल, विधि र प्रक्रियामा नगई व्यक्तिवादी चरित्र हावि भएको अवस्थामा नेकपा एसको जन्म भएको भन्दै उहाँले आफुले जितेमा घोषणापत्रमा उल्लेख गरिएका सवै काम पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।