images
images

दोलखामा राजनितिक दलहरु मतदाता रिझाउने अन्तिम कसरतमा

  • २६ बैशाख २०७९, सोमबार २०:०३

दोलखा । स्थानीय तहको निर्वाचन आउन अब चार दिनमात्रै बाँकी रहँदा दोलखामा राजनितिक दलहरु मतदाता रिझाउने अन्तिम कसरतमा जुटेका छन् ।

राजनितिक दलहरुले जिल्लामा घरदैलो अभियान र चुनाविसभाका कार्यक्रमलाई तिव्रता दिएका हुन् । निर्वाचन नजिकिएसँगै दोलखामा दैनिकजसो घरदैलो र चुनाविसभाका कार्यक्रम हुन थालेका छन् । गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले संयुक्त रुपमा घरदैलो र चुनाविसभा गरिरहेका छन् भने नेकपा एमालेले एक्लै घरदैलो र चुनाविसभा गरिरहेको छ । जिल्लामा विगतको निर्वाचन भन्दा यो पटकको निर्वाचनमा बढी नै रौनकता देखिएको हो ।

दोलखाका ९ वटै स्थानीय तहमा जित हात पार्ने दावि गर्दै गठबन्धनका उम्मेदवारहरु यतिबेला घरदैलो र चुनाविसभामा व्यस्त छन् । घरमा आउने एक पक्षको उम्मेदवारले मत माग्न नभ्याउँदै अर्को पक्षको उम्मेदवार घरको आँगनमा पुगेर मत मागिरहँदा गाउँबस्ती निकै रोचक बन्ने गरेको छ । मंगलबार मध्यरातिदेखि मौन अवधि सुरु हुने भएकाले दलहरुले आज र भोली चुनाविसभा राखेका छन् । उम्मेदवारले घरमै पुगेर मत मागिरहँदा मतदाता पनि भोट हाल्न पाउने दिनको प्रतिक्षा गरिरहेका छ ।