काठमाडौँ । कोसी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन् ।
एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका हुन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि एमाले नेता कार्कीले आज बिहान मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । कार्कीको दावी लगत्तै समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत गरि प्रदेश प्रमुख पर्शराम खापुङले कार्की मुख्यमन्त्री नियुक्त भएको घोषणा गरेका हुन् । कार्कीको समर्थनमा एमालेका ३९ र माओवादी केन्द्रका १३ गरी ५२ सांसदले हस्ताक्षर गरेका थिए । प्रदेश प्रमुख परशुराम खापुङले गएराति नै प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने कुनै सांसदलाई मुख्यमन्त्रीमा आफ्नो दावी पेश गर्न आह्वान गरेका थिए ।
यसैबीच, कोसीका मुख्यमन्त्री केदार कार्कीले सरकार गठनका लागि प्रदेश प्रमुखले गरेको आह्वानविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता गरेका छन् । प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि कार्की सो निर्णय असंवैधानिक भएको भन्दै सर्वाेच्चमा पुगेका हुन् ।