images
images

नेपाली खेलाडीहरुले २ करोड ९७ लाख नगद पुरस्कार पाउने

  • २७ बैशाख २०८१, बिहीबार १८:०३

काठमाडौँ । सरकारले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही १३ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेसँगै १९ औं एसियन गेम्समा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका हुन् । मन्त्रिपरिषद्को आज बसेको बैठकले कुल २ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । गत नोभेम्बरमा घरेलु मैदानमा आईसीसी टी २० विश्वकप एसिया क्षेत्र फाइनलमा पुग्दै दोस्रो भएको नेपाल क्रिकेट टिमले कुल २ करोड ४ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । १५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देशाईले ३ लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही १ लाख ९५ हजार पाउनेछन् ।

साथै १९ औँ एसियाली खेलकुदमा नेपाललाई ऐतिहाँसिक रजत दिलाउन सफल एरिका गुरुङले १९ लाख ५० हजार प्राप्त गर्नेछिन् भने एसियन गेम्समा रजत विजेता कराँते टिमले कुल २५ लाख ३५ हजार प्राप्त गर्नेछन् । यसैगरी, एसियाली खेलकुदमा नै कबड्डीमा कास्य जित्ने राष्ट्रिय महिला कबड्डी टिमका १२ खेलाडीले जनही ३ लाख ९० हजार तथा चौथो एसियाली पारा खेलकुद २०२२ मा कास्य जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले नगद १३ लाख प्राप्त गर्नेछिन् ।