
काठमाडौं । सुन तस्करी प्रकरणका मुख्य आरोपी चिनियाँ मुलका बेल्जियम नागरिक दावा छिरिङ दोषी ठहर भएका छन् ।
सुन तस्करी प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका दावा छिरिङ (नीमा तामाङ) नागरिकता र राहदानी किर्तेमा दोषी ठहर भएका हुन् । उनलाई काभ्रे जिल्ला अदालतले दोषी ठहर गरेको हो । काभ्रे जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले झुटा विवरण पेस गरी नागरिकता र राहदानी लिने दावालाई दोषी ठहर गरेको हो ।
उनीमाथि नागरिकता सम्बन्धी मुद्दामा ५ वर्ष कैद र १ लाख जरिवाना र राहदानी सम्बन्धी मुद्दामा ३ वर्ष कैद र ३० हजार जरिवानाको फैसला भएको छ । बेल्जियमको समेत नागरिकता रहेका दावाले काभ्रेपलाञ्चोक जिल्लाबाट निमा तामाङको नामबाट नागरिकता बनाएका थिए ।
दावाको नेपाली नागरिकतामा १५ वैशाख २०४१ जन्ममिति तथा बेल्जियमको राहदानीमा ३ चैत २०४० जन्ममिति उल्लेख छ । सुन काण्डमा पक्राउ परेपछि प्रहरीले अनुसन्धानको क्रममा उनले काभ्रेबाट नागरिकता लिएको पत्ता लगाएको थियो ।