images
images

मोदीको शपथग्रहणमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारत जाँदै

  • २७ जेष्ठ २०८१, आईतवार ०६:३१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहणमा सहभागी हुन आज भारत भ्रमणमा जानुहुने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड आज भारतको नयाँ दिल्ली जान लाग्नुभएको हो । मोदीले प्रधानमन्त्रीको रुपमा लिन लागेको शपथग्रहण समारोहमा सहभागी हुन प्रचण्डले भारत भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । शपथपछि दुई प्रधानमन्त्रीबीच भेटवार्ता हुने नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यतालिका सार्वजानिक गरेको हो । प्रधानमन्त्री प्रचण्डको साथमा स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलमन्त्री पदम गिरी र नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड भारतको औपचारिक भ्रमण सम्पन्न गरी जुन १० मा नेपाल फर्कने कार्यक्रम रहेको छ ।

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री प्रचण्डले भ्रमण हुनु अघि भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा हिजो साँझ भएको सो भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । भेटका क्रममा अन्य समसामयिक विषयमा छलफल भएको बताइएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड आज भारतको नयाँ दिल्ली जानुहुने भएको छ ।