
जिरी(दोलखा) । दोलखाको कालिञ्चोक गाउँपालिका–७ सुनखानीकी ३० वर्षीया मिरा खुलाल अहिले गम्भीर उपचारमा छिन् ।
मृगौला फेल हुनुको साथै कलेजोमा समेत समस्या भएपछि उनी गम्भीर अवस्थामा पुगेकी हुन् । युवाअवस्थामै मृगौला फेल भएपछि मिर्गाेला प्रत्यारोपण गर्नुपर्ने भएको छ । तर, आर्थिक अभावले उनको उपचार हुन सकेको छैन । बुबा दिलबहादुर खुलालका अनुसार मिराको उपचारका लागि ५० लाख भन्दा बढी रकम आवश्यक पर्ने भएपनि आर्थिक अभावका कारण उनको उपचार हुन सकेको छैन ।
मिराको उपचारका लागि खुलाल परिवार अहिले सहयोग जुटाउन लागि परेको छ । उनीहरुले ३० वर्षीया मिरालाई नयाँ जिवन दिन सहयोगको अपिल गरिरहेका छन् । यही बेला मिराको उपचारको लागि दोलखा समाज जापानले जापानमा रहेका दोलखालीहरुबाट सहयोग रकम संकलन गरी पठाएको छ । जापानमा रहेका इश्वर पाठक र सविना बुढाथोकीको पहलमा दोलखा समाज जापानले २ लाख ५८ हजार रुपैंया संकलन गरी पठाएको हो ।
उक्त रकम खुलाल परिवारलाई हस्तान्तरण गरिएको छ । ज्येष्ठ नागरिक कोषका अध्यक्ष बसन्तराज कार्की, दोलखा जिल्ला निर्माण व्यवसायी संघका अध्यक्ष राजेश थापा र दोलखा समाज जापानका कार्यसमिति सदस्य पार्शुक पोखरेलले शुक्रबार हस्तान्तरण गर्नुभयो । मिरा बचाउ अभियानका लागि जापानमा रहेका ६१ जना दोलखालीले सहयोग गरेका हुन् ।