
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुई दिने भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आज दिउँसो भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड नेपाल एयरलाईन्सबाट नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । उहाँको साथमा स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहाल, कानुन् न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल लगाएत उच्च पदस्थ सरकार कर्मचारी भारत गएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ ६ बजे शथप लिने कार्यक्रम छ । भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि आजै साँझ प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्ली स्थित नेपाली राजदुताबासले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण सकेर भोली स्वदेश फर्किने कार्यक्रम रहेको छ ।