images
images

बागमती प्रदेशको बजेट: असारमा मात्रै १३ अर्ब खर्चिँदा एकै दिन दुई अर्ब बढी भुक्तानी

  • २५ असार २०८१, मंगलवार १७:३६

हेटौँडा । बागमती प्रदेश सरकारले असारमा मात्रै १३ अर्ब ३८ करोड रुपैयाँ बजेट खर्च गरेको छ ।

जेठ मसान्तसम्ममा कुल बजेटमध्य ३२ अर्व २९ करोड खर्च गरेको प्रदेश सरकारले चालु वर्ष कुल ४५ अर्ब ६७ करोड रुपैयाँ खर्च गरेको छ । यो आँकडालाई हेर्दा प्रदेश सरकारले असारमा मात्रै १३ अर्ब ३८ करोड बजेट खर्च गरेको देखिएको हो । त्यसमध्य पनि पछिल्लो एक सातामा मात्रै ८ अर्व ५७ करोड बजेट खर्च भएको छ । प्रदेश सरकारका निकायहरुले असार १७ गतेसम्म ३७ अर्ब १७ करोड खर्च गरेकोमा पछिल्लो एक सातामा मात्रै ८ अर्व ५७ करोड बजेट खर्च गरेका छन् । प्रदेश सरकारको खर्च प्रणाली बन्द हुने दिन असार २४ गतेमात्रै दुई अर्ब भन्दा बढि रकम खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारले कुल बजेटको ७२ दशमलव ८३ प्रतिशत खर्च गरेको छ । प्रदेशका १३ मन्त्रालय र सो मातहतका निकायले चालु आर्थिक वर्ष विनियोजित ६० अर्ब बजेटमध्ये ४५ अर्ब ६७ करोड रुपैयाँ खर्च गरेका हुन् । जसमध्य चालुतर्फ १७ अर्ब १२ करोड खर्च भएको छ भने पुँजीगततर्फ २८ अर्ब ५४ करोड रुपैयाँ बजेट खर्च भएको छ । प्रदेश सरकारले वित्तीय व्यवस्थातर्फ विनियोजन गरेको ५० करोड रुपैयाँ भने खर्च हुन सकेको छैन ।

प्रदेश सरकारले चालु वर्ष स्थानीय तहहरुमा ७ अर्ब ६४ करोड ४९ लाख २६ हजार रुपैयाँ अनुदान पठाएकोमा ९५ दशमलव २८ प्रतिशत रकम खर्च भएको छ ।