images
images

बाढी पहिरोको असरः चरिकोट–जिरी सडक दर्जन बढी स्थानमा भासियो

  • २४ श्रावण २०७९, मंगलवार १८:१०

जिरी (दोलखा) । अविरल बर्षाका कारण चरिकोट–जिरी सडकको दर्जन बढी स्थानमा सडक भासिएको छ ।

भारी बर्षासँगै सडक माथि र तलवाट खसेको पहिरोका कारण हालसालै निर्माण सम्पन्न भएको चरिकोट–जिरी सडक जोखिममा परेको हो । पहिरोका कारण सडक भासिएपछि कतिपय स्थानमा एकतर्फिरुपमा सवारीका साधन संचालन गरिएको छ भने दैनिकरुपमा यातायात अवरुद्ध हुने गरेको छ ।

विगत तीन दिन यता चरिकोट–जिरी सडकको बिरुवा, टोड्के, फाप्लु लगायतका स्थानमा खसेको पहिरोका कारण यातायात अवरुद्ध भएको हो । रातभरको बर्षासँगै पहिरो खसेर यातायात अवरुद्ध हुने र विहान स्काभेटरले पहिरो पन्छाएपछि मात्रै यातायात सुचारु हुने गरेको छ । पहिरोका कारण चरिकोट–जिरी सडकको भीमेस्वर नगरपालिकास्थित गौरीशंकर बालगृह नजिकको सडक, वैतेस्वरको बुस्ति सडक, खावा नजिकैको सडक र जिरीको खुर्दुके सडक खण्ड भासिएको छ । खुर्दुके सडक खण्डमा करिव १० मिटर सडक धाँजा फाटेर पहिरिएको छ ।

कालोपत्रे सडकको अधिकाँश भाग धाँजा फाटेर पहिरो जान सुरु भएको हो । खुर्दुके सडक खण्डमा थप पहिरो गए खावा जिरी सडक पूर्णरुपमा अवरुद्ध हुनेछ । बाढी र पहिरोका कारण सडकको नाला पुरै भरिएको छ । ठाउँ–ठाउँमा खसेको पहिरोको समयमै व्यवस्थापन नहुँदा थप स्थानमा पहिरो जाने र सडक भासिने जोखिम रहेको छ । चरिकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडक स्तरोन्नति र कालोपत्रे करिव ६ महिना अघिमात्रै सम्पन्न भएको हो ।

सडक स्तरउन्नती र कालोपत्रेकालागि लामा कन्सट्रक्सनले २ अर्व २८ करोडमा ठेक्का सम्झौता गरेको थियो । सडक कालोपत्रे भएको ६ महिना नवित्दै बर्षा र पहिरोका कारण चरिकोट–जिरी सडकमा ठूलो क्षेति पुगेको हो ।