images
images

आइतबार माथिल्लो तामाकोशीको जलाशय सफा गरिदैं, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

जिरी(दोलखा) । आगामी आइतबार तामाकोशी नदीमा पानीको सतह दिनभर घट्बढ हुने भएको छ ।

दोलखाको विगु गाउँपालिका(१ लामाबगरमा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रको जलाशयको सरसफाई गर्ने भएकाले सो दिन पानीको सतह दिनभर घट्बढ हुने भएको हो । सफाइ अवधीमा विहान ५ बजेदेखि राती १० बजेसम्म तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रमा पानीको सतह घटबढ भइरहने भएकाले सत्तर्कता अपनाउन जलविधुत केन्द्रले आग्रह गरेको छ ।

केन्द्र प्रमुख पूर्ण गोपाल रञ्जितले लामाबगर, छ्योतछ्योत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सिन्धुलीको खुर्कोट, सुनकोशी नदिको दोभानसम्म सर्तकता अपनाउन आग्रह गर्नुभयो ।

आयोजनाले वार्षिक कार्यतालिका अनुसार नै आयोजनाको जलाशयको सफाई गर्न लागेको हो । सरसफाई अवधिभर तामाकोशी नदिमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिटीबालुवा निकाल्ने, गाडी तार्ने जस्ता कार्यहरू नगर्नरनगराउन आयोजनाले आग्रह गरेको छ ।

साथै, नदी किनारमा परम्परा अनुसार मृतकहरूको दाहसंस्कार वा धार्मिक संस्कार गर्नुपर्दा सतर्कतापूर्वक सावधानीका साथ गर्नरगराउन समेत आग्रह गरिएको छ ।

वर्षातको समयमा माथिल्लो क्षेत्रबाट बाढीले बगाएर ल्याएका ग्राभेल, बालुवा सहितका सामाग्री जलाशयमा थुप्रिँदा माथिल्लो तामाकोशीको जलाशयमा लेदोको मात्रा अधिक छ । यो बर्ष बाँध भन्दा माथिल्लो क्षेत्रमा पहिरोले नदी थुनिएर आएको बाढीले झनै समस्या भएको छ ।

दुई किलोमिटर लामो बाँध सफा गरेपछि पानीको मात्रा बढी हुनेछ भने विधुत उत्पादन समेत पूर्ण क्षमतामा हुनेछ । जलशयमा जम्मा भएको बालुवा, ग्राभेल लगायतको सरसफाई गर्न लागिएको हो।

माथिल्लो तामाकोशी जलविधुत केन्द्रको प्रवर्दक कम्पनी तामाकोशी हाइड्रो पावरका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले वार्षिक कार्यतालिका अनुसार नै जलाशयको सरसफाई गर्न लागिएको र उक्तदिन विद्युत उत्पादन बन्द हुने जानकारी दिनुभयो ।