images
images

सरकार गठनको दुई महिनापछि पहिलो पटक सत्तारुढ दलको बैठक बस्दै

  • २४ भाद्र २०८१, सोमबार ०९:०४

काठमाडौं । सरकार गठन भएको करिब दुई महिनापछि पहिलोपटक सत्तारुढ दलको बैठक आज बस्ने भएको छ ।

सरकार गठनको छोटो अवधिमै नेता तथा मन्त्रीहरुमा असन्तुष्टि र अविश्वास पैदा भइरहेको बेला पहिलो पटक सत्तारुढ दलको बैठक आज बस्ने भएको हो । आज बस्ने बैठकमा सरकारले ल्याउने सरकारको न्युनतम साझा कार्यक्रम लगायतका विषयमा छलफल गर्ने कार्यसूची छ । सत्ता गठबन्धनका नेताहरुमा अविश्वास र असन्तुष्टि पैदा भइरहँदा हिजो प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो ।

हिजोकै छलफलमा रहेका दलहरुले बैठक बोलाएका हुन् । असार ३१ गते गठन भएको सरकारमा एमालेको नेतृत्वमा कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी रहेका छन् । ओली नेतृत्वको सरकारलाई जसपा नेपाल र जनमत पार्टीले पनि समर्थन गरेका छन् ।