images
images

२३ महिनाकी छोरीको हत्या गरेको आरोपमा आमा पक्राउ

  • २४ भाद्र २०८१, सोमबार १८:४४

काठमाडौँ । २३ महिनाकी छोरीको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छिन् ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका घर भई हाल ललितपुरको कोन्जोसोम गाउँपालिका–३ दलचोक बस्दै आएकी २१ वर्षीया प्रमिला भन्डारी छोरीको हत्या गरेको आरोपमा आज पक्राउ परेकी हुन् । गत साउन २७ गते आफ्नै घरबाट २३ महिनाकी छोरी प्रिन्सिका भण्डारी हराएको भन्दै प्रमिलाले प्रहरी वृत्त चापागाउँमा निवेदन दिएकी थिइन् ।

उनले प्रहरीकोमा निवेदन दिएपछि खोजतलास गर्ने क्रममा घर नजिकै सिलिङ्गेबेसी आँपबोटमा रहेको ठोस्ने खोलामा पानीमा डुबेको अवस्थामा ती बालिकाको शव भेटिएको थियो । शवको प्रकृति र पोष्टमार्टम रिपोर्टमा शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

सोही क्रममा उनकै आमा प्रमिलाले छोरीको हत्या गरेको खुलेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो । पक्राउ परेकी आमा प्रमिलाले पनि ती बालिकालाई हिर्काउँदा बेहोस भएपछि खोलामा आफैँले फालेको स्वीकार गरेकी छिन् । पक्राउ परेकी उनीविरुद्ध ललितपुर जिल्ला अदालतबाट कर्तव्य ज्यानको कसुरमा ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको छ ।