images
images

रामेछाप कांग्रेसमा विवादः कडा सुरक्षाकावीच जिल्ला पुगेका कान्छारामले दिए कार्यवाहकको जिम्मेवारी

  • २४ भाद्र २०८१, सोमबार २०:३८

रामेछाप । रामेछाप कांग्रेसमा फेरी विवाद सुरु भएको छ ।

रामेछाप कांग्रेसमा नेतृत्वको कार्यशैलीलाई लिएर विवाद उत्पन्न भएको हो । पार्टी सभापति पूर्ण बहादुर तामाङ (कान्छाराम)ले पार्टीमा एकलौटी ढंगले निर्णयहरु गरिरहेको भन्दै पार्टी सचिव दिपक खड्का लगायतका अन्य पदाधिकारी र सदस्यले विरोध जनाएपछि कांग्रेस रामेछापमा फेरी विवाद चुलिएको छ ।

यद्धपी उर्जा राज्यमन्त्री समेत रहेका कान्छाराम पार्टीको आन्तरिक विवादका बीच जिल्ला सदरमुकाम मन्थली पुगेका छन् । उनी जाँदा सशस्त्र र नेपाल प्रहरी व्यापक रुपमा परिचालन गरिएको थियो ।

तर, पार्टी सचिव खड्का सहितका केही विद्यार्थी नेताहरुले सभापति तामाङलाई मन्थली पुग्दा कालो झण्डा देखाएका छन् । १११ औं बिपी जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका उनलाई पार्टीका नेताहरुले अवरोध गर्न थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

सो क्रममा सचिव खड्का सहितका टोली र प्रहरीबीच केहीबेर ठेलमठेल समेत भएको थियो । हिजो सचिव खड्काले विज्ञप्ती जारी गर्दै सभापति तामाङले पार्टीको विधान विपरित तानाशाही प्रवृत्ति देखाएको भन्दै विरोध जनाएका थिए । कांग्रेस रामेछापको विवाद यो पहिलो पटक भने होइन । यसअघि पनि पटक–पटक आन्तरिक विवाद हुँदै आएको थियो भने त्यसको उजुरी पार्टी केन्द्रसम्म पुगेको थियो ।

उपसभापतिलाई कार्यवाहक सभापतिको जिम्मेवारी

विवादका बीच जिल्ला आएका सभापति तामाङले उपसभापति लेख बहादुर कार्कीलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् । आफु उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री नियुक्त भएर बढी समय जिल्ला बाहिर रहनुपर्ने भएको भन्दै तामाङले कार्कीलाई कार्यवाहको जिम्मेवारी दिएका हुन् ।

यसैगरी पार्टी प्रवक्ता समेत नियुक्त गरिएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य कुमार श्रेष्ठलाई प्रवक्ताको जम्मेवारी दिइएको हो । नयाँ जिम्मेवारी दिएर दिइएको नियुक्ती पत्रमा समेत तामाङले दुई नेतालाई आफ्नो र पार्टीको नीति, निर्देशनमा रहेर जिम्मेवारी पुरा गर्न आग्रह गरेका छन् ।