images
images

दोलखा प्रदेशसभा ‘ख’ को उम्मेदवार परिवर्तन, कांग्रेस जिल्ला सभापति लामाले पाए टिकट

  • २३ आश्विन २०७९, आईतवार १०:४५

दोलखा । नेपाली कांग्रेसले दोलखा प्रदेशसभा ‘ख’ मा पार्टी जिल्ला सभापति बर्मा लामालाई उम्मेदवार बनाउने भएको छ ।

आज विहान भएको निर्णलाई संशोधन गर्दै कांग्रेसले अन्तिम समयमा आएर प्रदेशसभा ‘ख’ मा नेता लामालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघि आज विहानमात्रै पार्टी केन्द्रीय सदस्य कुन्दनराज काफ्लेलाई प्रदेशसभा ‘क’ मा र अर्का केन्द्रीय सदस्य अजयवावु शिवाकोटीलाई प्रदेशसभा ‘ख’ मा उम्मेदवार बनाउने निर्णय भएको थियो । टिकट लिनकालागि बालुवाटार पुगेका शिवाकोटीको टिकट अन्तिम समयमा आएर खोसिएको हो । कांग्रेस महामन्त्री गगन थापा निकट मानिने नेता शिवाकोटीलाई थापाकै शिफारिसमा दोलखा प्रदेशसभा ‘ख’ वाट उम्मेदवार बनाउने निर्णय भएको थियो ।

केन्द्रीय सदस्य शिवाकोटी प्रेसको राजनीतिवाट सिधै पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भएको, फिल्डको राजनीतिको लामो अनुभव नभएको र जनजाती बाहुल्य रहेको दोलखामा जनजाती उम्मेदवार बनाउँदा चुनाव जित्न सहज हुने सुझावपछि शिवाकोटीलाई व्याक सारेर पार्टी जिल्ला सभापति बर्मा लामालाई टिकट दिईएको कांग्रेस नेताहरुले बताएका छन् ।

प्रदेशसभा ‘ख’ मा शिवाकोटीका अलावा, नेता केशवप्रसाद चौंलागाई र महाधिवेशन प्रतिनिधि प्रभुराम श्रेष्ठको पनि शसक्त दावी थियो । तर, प्रदेशसभा ‘ख’ का तीनै जना दावेदारलाई पछि हटाएर प्रदेशसभा ‘क’ अन्तर्गत मेलुङ गाउँपालिका स्थायी घर भएका नेता लामालाई टिकट दिईएको हो । लामा यसअघि पनि प्रदेशसभा ‘क’ वाट चुनाव लडेर पराजित भएका थिए । भुगोलको राजनीतिको लामो अनुभव भएको र पार्टी सभापत भएर जिल्ला चलाएका कारण सत्तारुढ गठबन्धनवाट चुनाव लड्दा आफु बिजयी हुने लामाको दावी छ ।

सत्तारुढ गठबन्धनवीच भागवण्डा हुँदा प्रतिनिधिसभा नेकपा माओवादी केन्द्रको भागमा र प्रदेशसभा नेपाली कांग्रेसको भागमा परेको थियो । जसअनुसार एक सिटमात्र रहेको प्रतिनिधिसभा सदस्यमा गठबन्धवाट नेकपा माओवादी केन्द्रका नेता गंगा कार्की उम्मेदवार बन्ने यसअघि नैं निर्णय भईसकेको छ ।