दोलखा । नेकपा एकिकृत समाजवादी दोलखाले केन्द्रीय निर्णय अनुसार दोलखामा गठबन्धनका उम्मेदवारलाई सहयोग गरेर जाने निर्णय गरेको छ ।
दलीय भागबण्डामा आफ्नो पार्टीलाई कुनैपनि सिट नपरेपछि स्वतन्त्र उम्मेदवारी समेत दिएर जाने तयारीमा रहेको नेकपा एकिकृत समाजवादीले अन्तिम समयमा आएर छुट्टै उम्मेदवारी दर्ता नगर्ने र गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको हो । नेकपा एकिकृत समाजवादी दोलखाका उपाध्यक्ष घनश्याम रिजालले पार्टीको आज बसेको बैठकले सत्तारुढ दलहरुवीच भएको समझदारी र प्रतिगमन बिरुद्ध बनेको गठबन्धनलाई सहयोग गर्ने निर्णय भएको जानकारी दिनुभयो । रिजालका अनुसार नेकपा एसले दोलखामा पार्टी हैसियत वा स्वतन्त्र हैसियतमा कुनै पनि उम्मेदवारी दिने छैन ।
प्रतिनिधिसभामा १ र प्रदेशसभामा २ सिट रहेको दोलखा जिल्लामा सत्तारुढ गठबन्धनको निर्णय अनुसार माओवादी केन्द्रको भागमा प्रतिनिधिसभा र नेपाली कांग्रेसको भागमा प्रदेशसभाको टिकट परेपछि नेकपा एकिकृत समाजवादी दोलखाको हिजो आकस्मिकरुपमा बसेको बैठकले आवस्यक परे स्वतन्त्र उम्मेदवारी दर्ता गरेर जाने भन्दै गठबन्धनको नेतृत्वलाई दवाव सिर्जना गरेको थियो । तर, पूर्ववत निर्णयमा पुर्नविचार नभएपछि नेकपा एसले दोलखाले गठबन्धनलाई सहयोग गरेर जाने निर्णयमा पुगेको हो ।










