images
images

सत्ता गठबन्धनबाट सिन्धुपाल्चोकमा माओवादीका तीन नेताद्धारा उम्मेदवारी दर्ता

  • २३ आश्विन २०७९, आईतवार १६:५१

सतारुढ गठबन्धन अन्तर्गत नेकपा माओवादी केन्द्रबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेता माधव सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।

आज दिउँसो उनले सिन्धुपाल्चोक पुगेर मनोनयन दर्ता गराएका हुन् । निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले उम्मेदवार नबन्ने घोषणा गरेपछि टिकट पाएसँगै पोलिटब्युरो सदस्य माधवले सत्तारुढ गठबन्धनबाट मनोनयन दर्ता गराएका हुन् । सोही क्षेत्रको प्रदेश सभाअन्तर्गत क्षेत्र नम्बर १ (ख) बाट सरल सहयात्रीले उम्मेदवारी दिएका छन् । सहयात्री माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्षको जिम्मेवारीमा छन् । क्षेत्र नम्बर २ भने नेपाली कांग्रेसको भागमा परेको छ । यसअघि क्षेत्र नम्बर १ बाट निर्वाचन लड्दै आएका कांग्रेसका मोहन बस्नेतले यो क्षेत्रबाट आगामी निर्वाचन लड्न टिकट पाएका छन् । क्षेत्र नम्बर २ (ख) माओवादीको भागमा परेको छ । सो क्षेत्रबाट निवर्तमान प्रदेश सांसद एवम् माओवादी केन्द्रका युवा नेता युवराज दुलालले उम्मेदवारी दर्ता गराएका छन् ।

माओवादी केन्द्रबाट उम्मेदवारी दिने तीनै जना युवा उम्मेदवार हुन् । उम्मेदवारी दर्ता गर्ने क्रममा उनीहरु एउटै पोशाकमा पुगेका थिए । प्रतिनिधि सभा र क्षेत्र नम्बर २ प्रदेश सभाको दुवै सिटमा उम्मेदवारी दर्ता भएको छ ।