रामेछापमा सतारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले संघमा र माओवादी केन्द्रका उम्मेदवारले प्रदेशमा मनोनयन दर्ता गराएका छन् ।
आज प्रतिनिधिसभा सदस्यको लागि नेपाली काङ्ग्रेसबाट पुर्ण बहादुर तामाङ (कान्छाराम)ले उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनको क्रममा कांग्रेसका कान्छाराम संघीय उम्मेदवार बन्दा माओवादी केन्द्रका दुई नेता प्रदेशका उम्मेदवार बनेका छन् । माओवादी केन्द्रको तर्फबाट प्रदेशसभा ‘क’ मा तारा नारायण श्रेष्ठ र ‘ख’ मा युवा नेता युबराज चौलागाईले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनको भागवण्डाको क्रममा दोलखामा माओवादीले प्रतिनिधिसभा सदस्यको उम्मेदवार उठाउन पाउँदा रामेछापमा संघीय उम्मेदवार उठाउने मौका कांग्रेसले पाएको थियो भने दुई प्रदेससभा सदस्य माओवादीको भागमा परेको थियो ।
नेकपा एकीकृत समाजवादीको छुट्टै उम्मेदवार
गठबन्धनमा रामेछापबाट एक सीट पनि नपरेपछि नेकपा एसले भने विद्रोह गरेर छुट्टै उम्मेदवार खडा गरेको छ । आज उम्मेदवारी मनोनयनको अन्तिम समयमा एसले प्रतिनिधिसभामा पोलिटब्युरो सदस्य तथा पूर्व सांसद देवशंकर पौडेललाई उम्मेदवार बनाएको छ । यस्तै, प्रदेशसभा १ तर्फ मन्थली नगरपालिकाका पूर्व मेयर रमेश बस्नेत र २ नम्बरमा केन्द्रीय सदस्य झम्क कँडेलले उम्मेदवारी दिएका छन् ।










