काठमाडौं । उदयपुरमा एक पुरुषले श्रीमतीको हत्या गरेर टाउको हातमा बोकेर हिँडेको घटना सार्वजनिक भएको छ ।
त्रिवेणी नगरपालिका–६ जलजलेका ३६ वर्षीय जङ्गबहादुर घिसिङले श्रीमतीको हत्या गरी टाउको हातमा बोकेर बजार डुलोका हुन् । हिजो साँझ करिब ६ बजे उनले पत्नी २८ वर्षीया प्रमीला लामाको हत्या गरेका हुन् । हत्यापछि टाउको लिएर हिँडेका उनलाई पक्राउ गरिएको उदयपुरका एसपी हरिहर योगीले जानकारी दिनुभयो ।
भारतबाट असोज १३ गते घर आएका जङ्गबहादुरले विवादपछि पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूका दुई सन्तान छन् । डेरा लिएर प्रमीलाले चियाको व्यापार गर्दै आएकी थिइन् ।
ती दम्पतीको बिचमा पछिल्लो समय सम्बन्ध राम्रो नभएको स्थानीयले बताएका छन् । तर, सम्बन्ध सुधारेर सँगै बस्नेबारे छलफल हुँदा पनि उनीहरूको बिचमा विवाद बढेपछि हत्या भएको अनुमान गरिएको छ ।