images
images

दुई महिनामा नेपालबाट ७ अर्ब ५५ करोडको विद्युत निर्यात

  • २३ आश्विन २०८१, बुधबार १५:४५

काठमाडौं । नेपालबाट दुई महिनाको अवधि ७ अर्ब भन्दा बढीको विद्युत भारत निर्यात भएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैंयाको विद्युत भारततर्फ निर्यात भएको हो । प्राधिकरणले साउनमा ३ अर्ब ९९ करोड ५६ लाख रुपैंयाको विद्युत निर्यात गरेको छ भने भदौमा ३ अर्ब ५५ करोड ५ लाख रुपैयाँको विद्युत निर्यात गरेको छ ।

नेपालले भदौको तेस्रो सातामा सबैभन्दा बढी ९९ करोड ५५ लाख रुपैंयाको विद्युत निर्यात गरेको छ भने सबैभन्दा कम भदौको दोस्रो सातामा ६९ करोड ८ लाख रुपैंयाको निर्यात गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय उर्जा एक्सचेन्ज आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केट प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौत बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।

तर, अहिले बाढीपहिरोका कारण कम विद्युत् निर्यात भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत केन्द्रहरु र प्रसारण लाइनमा क्षतिपुग्दा हाल विद्युत निर्यात प्रभावित भएको बताउनु भएको छ ।

अहिले दैनिक रुपमा डेढ सय मेगावाटको हाराहारीमा मात्र निर्यात भइरहेको छ । बाढीपहिरो कारण सञ्चालमा रहेको सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीसहित करिब ७ सय ५० मेगावाट विद्युत् उत्पादन बन्द छ ।