जिरी (दोलखा) । दोलखाको लामाबगर क्षेत्रबाट तस्करी भएको सुनको अन्तर्राष्ट्रिय भुक्तानी क्रिप्टो कारोबारबाट भएको खुलेको छ ।
लामाबगर क्षेत्रबाट भएको तस्करीको सुनको चीनमा करोडौँ भुक्तानी क्रिप्टोमार्फत भएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको हो । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सुनको भुक्तानी पनि क्रिप्टोबाटै भएको थियो । चीनबाट दोलखाको लामाबगर नाका हुँदै पटक–पटक सुन तस्करी भएको घटनामा हाल दोलखा प्रहरी र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले अनुसन्धान गरिरहेको छ । गत असोज महिनामा लामाबगर क्षेत्रबाट ११ किलो सुन दोलखा प्रहरीले बरामद गरेको थियो भने धमाधम मानिसहरु पक्राउ परिरहेका छन् ।
यसअघि विमानस्थलबाट भित्रिएको ३ सय ६३ केजी सुन तस्करीको पनि क्रिप्टोमार्फत नै कारोबार भएको थियो । दोलखाबाट सुन तस्करी गर्ने गिरोहले पनि त्यसैगरी भुक्तानी गरेको पाइएकोे सिआइबीका प्रमुख एआइजी किरण बज्राचार्यले जानकारी दिनुभयो । सो विषयमा पनि अनुसन्धान भइरहेको छ । सुन तस्करीको रकम क्रिप्टोमार्फत भुक्तानीमा संलग्न रामेछापको मन्थली नगरपालिका ५ की महिमा माझीलाई प्रहरीले हिजो काठमाडौंबाट पक्राउ गरेको थियो ।
सुन तस्करीहरुको रकम डलरमा साँटेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले बताएको छ । पक्राउ परेका उनलाई हिजो नै जिल्ला प्रहरी कार्यालय दोलखा ल्याईएको दोलखाका प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी दिपक खड्काले जानकारी दिनुभयो । माझीको मोबाइलमा क्रिप्टो करेन्सीको कारोबार देखिएको र विस्तृत अनुसन्धान भइरहेको सिआइबीकी निर्देशक एआइजी बज्राचार्यले बताउनुभयो । हिजो माझी पक्राउ परेसँगै दोलखा सुन प्रकरणमा हालसम्म पक्राउ पर्नेको संङ्ख्या १५ पुगेको छ ।










