images
images

मन्त्रिपरिषद बैठकः सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी निर्देशिका स्वीकृत

  • २३ कार्तिक २०८०, बिहीबार १४:०६

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीहरुले एक महिनाको तलब भूकम्प पीडितलाई दिने भएका छन् ।

मन्त्रिपरिषदको आज बसेको बैठकले जाजरकोट क्षेत्रमा प्रधानमन्त्री र मन्त्रीहरुको एक महिनाको तलब दिने निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । भूकम्प प्रभावित क्षेत्रमा अहिले विभिन्न क्षेत्रबाट सहयोग संकलन भइरहेको छ । हालसम्म प्रधानमन्त्री राहत कोषमा ६ करोड बढी रकम जम्मा भइसकेको छ । सरकारले तीन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद बैठकले मोरङको विराटनगर, काठमाडौंको मुलपानी र चितवनको गौतमबुद्ध भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने निर्णय गरेको हो ।

सरकारले युरोपको पोर्चुगलमा नेपाली दुतावास स्थापना गर्ने भएको छ । पोर्चुगलमा नेपाली दुतावास स्थापना गरी सनिल नेपाललाई राजदुत सिफारिस गर्ने निर्णय भएको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सुचना प्रविधिमन्त्री शर्माले बताउनुभयो । मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी निर्देशिका २०८० पनि स्विकृत गरेको छ । सामाजिक सञ्जाल सम्बन्धी प्रस्ताव विद्येयक समितिबाट क्याबिनेटमा प्रस्तुत भएर स्वीकृत भएको हो ।