images
images

दोलखा कांग्रेसमा महासमिति चयनका लागि जुटेन सहमति, तिहारपछि मात्रै टुँगो लाग्ने

  • २३ कार्तिक २०८०, बिहीबार १८:२४

दोलखा । नेपाली कांग्रेस दोलखाको महासमिति सदस्य चयन प्रक्रिया तिहार पछि मात्रै हुने भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यहरु जिप्छिरिङ लामा, कुन्दनराज काफ्ले, अजय शिवाकोटी सहित जिल्लाका प्रमुख नेताहरुको उपस्थितीमा दुई दिनसम्म बसेको छलफलमा ठोस सहमति हुन नसकेपछि तिहारपछि टुङ्ग्याउने निर्णय भएको हो । महासमिति सदस्य चयनका विषयमा छलफल मंसिर २ गते बैठक बस्ने र बैठकमा सहमति नजुटे निर्वाचन प्रक्रियामा जाने सहमति भएको नेताहरुले बताएका छन् । नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले भने जाजरकोट भूकम्पका कारण केन्द्रकै निर्देशन अनुसार तत्कालका लागि महासमिति सदस्य चयन प्रक्रिया स्थगित भएको बताउनुभयो । उहाँले तिहारपछि मात्रै महासमिति सदस्य चयन प्रक्रिया अघि बढाईने जानकारी दिनुभयो ।

नेपाली कांग्रेस केन्द्रले यसअघि कात्तिक २४ गतेसम्म महासमिति सदस्य टुङ्ग्याएर केन्द्रमा पठाउन निर्देशन दिएको थियो । हाल केन्द्रले नेपालीहरुको विशेष पर्व तिहार पनि नजिकिँदै गरेको र जाजरकोट भूकम्पका कारण समय थप गरी मंसिर १० गतेसम्म टुङ्ग्याई सक्न निर्देशन जारी गरेकाले तत्कालका लागि स्थगित गरिएको नेताहरुले बताएका छन् । महासमिति सदस्य निर्वाचन समितिका संयोजक गोविन्दनारायण मानन्धरका अनुसार निर्वाचनमा प्रक्रियाका लागि २२ जनाको उम्मेदवारी परेकोमा ३ जनाले फिर्ता लिएका छन् । खस आर्य समूहबाट दामोदर कार्की, पुस्कर कार्की र जनजाती क्लस्टरतर्फ हस्तबहादुर थामीले उम्मेदवारी फिर्ता लिएका हुन् । यस्तै, खसआर्य पुरुषतर्फ भवेन्द्र कार्की निर्विरोध निर्वाचित भएका छन् ।

बाँकी पदहरुको लागि सहमतिको प्रयास जारी रहेको अवस्थामा केन्द्रको निर्देशनअनुसार निर्वाचन र सहमतिको प्रक्रियालाई समेत यथावत् राखि तिहार पछि बाँकी प्रक्रिया अघि बढ्ने गरी स्थगित भएको निर्वाचन समिति संयोजक मानन्धरको भनाई छ । कांग्रेस दोलखाले सहमतिको प्रयास जारी रहेको भन्दै कात्तिक १९ गते आईतवार निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको थियो । जसअनुसार दुई महिला सहित ७ जना खुलाबाट र ४ जना क्लस्टरबाट महासमिति सदस्य चयन हुने व्यवस्था छ । क्लस्टरवाट जनजाति महिला र खस आर्य महिला सहित दुई महिला, पुरुष र अल्पसंख्यकवाट गरी ४ जना चयन हुनुपर्नेछ । छलफलमा सहमति नजुटी मतदान हुने अवस्था आएमा निर्वाचनमा ७४ वटा वडाबाट चुनिएर आएका करिव १६ सय प्रतिनिधिले मतदान गर्ने छन् ।