images
images

दोलखामा चार वर्षको अवधिमा ३ सय २८ वटा घरेलु हिंसाका घटना

  • २३ मंसिर २०७९, शुक्रबार ०८:००

दोलखा । दोलखामा चार वर्षको अवधिमा ३ सय २८ वटा घरेलु हिंसाका घटना भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखामा २०७६ सालदेखि हालसम्मको अवधिमा घरेलु हिंसाका ३ सय २८ वटा उजुरी दर्ता भएको हो । त्यसमध्ये १ सय ९० वटा घटनामा मिलापत्र भएको छ । श्रीमानले कुटपिट गरेको, अवहेलना गरेको, शारीरीक र मानसिक यातना दिएको भन्दै उजुरी लिएर पालिकाको न्यायीक समिति हुँदै प्रहरी कार्यालयसम्म आउने महिलाको संख्या धेरै रहेको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७६/७७ मा १ सय ११ वटा घरेलु हिंसाका उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएकोमा ६३ वटा उजुरीमा मिलापत्र भएको थियो भने ७ वटा मुद्धा मिलापत्र हुन नसकेपछि अदालतसम्म पुगेको थियो । घरेलु हिंसाका उजुरी दिने ४१ जना भने उजुरी दिएपछि पुनः प्रहरीको सम्पर्कमा पुगेका छैनन ।

यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ९६ वटा उजुरी परेकोमा ५४ वटा उजुरीमा मिलापत्र भएको थियो भने मिलापत्र नभएका १५ वटा मुद्धा अदालतसम्म पुगेका थिए । यो आर्थिक वर्ष घरेलु हिंसाको उजुरी दर्ता गराएका २७ जना भने सम्पर्कमा नआएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ । प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७८/७९ मा ८१ वटा घरेलु हिंसा उजुरी परेका थिए । त्यसमध्ये ४८ वटा उजुरीमा मिलापत्र भएको छ भने ८ वटा उजुरी अदालतसम्म पुगेको छ । उजुरी दर्ता गराएका २६ जना भने सम्पर्कमा पुगेका छैनन ।

घरेलु हिंसाको घटना भएमा कसुर भएको ९० दिनभित्र उजुरी दिइसक्नुपर्ने कानुनी व्यवस्था छ । गम्भिर प्रकृतिका बाहेक सामान्य घरेलु हिंसा गरेमा त्यस्तो व्यक्तिलाई तीन हजार रुपैँयदेखि २५ हजारसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुनेछ । एक पटक घरेलु हिंसाको कसुरमा सजाय पाइसकेको व्यक्तिले पुनः सोही कसुर गरेमा पटकैपिच्छे दोहोरो सजाय हुने कानुनी व्यवस्था छ ।

चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा मात्रै दोलखामा घरेलु हिंसाका ४० वटा उजुरी परेका छन् । त्यसमध्ये हालसम्म २५ वटा उजुरीमा मिलापत्र भइसकेको छ भने तीन वटा मुद्धा अदालतमा पुगिसकेका छन् । १२ वटा उजुरीका विषयमा काम भइरहेको प्रहरीले जनाएको छ । यो तथ्यांकलाई हेर्दा दोलखामा घरेलु हिंसा सम्बन्धी घट्ना बढ्दो क्रममा रहेको देखिएको छ । यी बाहेक अन्य थुप्रै महिलाहरु घरेलु हिंसामा परेको अनुमान गरिएको छ । परिवार, समाजको डरले महिलाहरुले खुलेर आफु हिंसामा परेको कुरा बाहिर ल्याउन र न्यायको पहुँचसम्म पुग्नै सकेका छैनन् । अधिकांश घटना मिलापत्रका नाममा गाउँमै गुपचुप राखिन्छ भने कतिपय घटना गाउँपालिका/नगरपालिकाको न्यायीक समितिसम्म पुगेर र कतिपय जिल्ला प्रहरी कार्यालयसम्म पुगे पनि मिलापत्र गराइन्छ । प्रहरी हुँदै अदालतसम्म पुगेका घटनामा पनि पीडीतले न्याय पाएका उद्धाहरण थोरै छन् ।

जसका कारण घरेलु हिंसाका घटना दिनप्रतिदिन बढीरहेको छ । घरेलु हिंसाको घटना भएमा कसुर भएको ९० दिनभित्र उजुरी दिइसक्नुपर्ने कानुनी व्यवस्था छ । गम्भिर प्रकृतिका बाहेक सामान्य घरेलु हिंसा गरेमा त्यस्तो व्यक्तिलाई तीन हजार रुपैँयदेखि २५ हजारसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुनेछ । एक पटक घरेलु हिंसाको कसुरमा सजाय पाइसकेको व्यक्तिले पुनः सोही कसुर गरेमा पटकैपिच्छे दोहोरो सजाय हुने कानुनी व्यवस्था छ ।