images
images

कालिञ्चोक दर्शनले निष्कासन गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीको आकर्षण

  • २३ मंसिर २०७९, शुक्रबार १५:५४

जिरी (दोलखा) । कालिञ्चोक दर्शन लिमिटेडले निष्कासन गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको आकर्षण देखिएको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि तोकिएर निष्कासन गरेको आईपीओमा माग भन्दा ६ गुणा बढी आवेदन परिसकेको हो । जसमा हालसम्म ६.१७ गुणा बढी आवेदन परिसकेको छ । आइपिओको आवेदन भर्ने मिति अझै ५ दिन रहेपनि वैदेशिक रोजगारीमा गएका नेपालीले हालसम्म करिब ७ करोड बराबरको आवेदन दिइसकेका छन् । आजसम्म यो कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा गएका तीन हजार ४६ नेपालीले ६ लाख ६६ हजार २०० कित्ता सेयर माग गरेका छन् । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीलाई एक लाख ८०० कित्ता आईपीओ आरक्षणमा खुला गरेको छ । उनीहरूबाट ६ करोड ६६ लाख २० हजार रुपैयाँ बराबरको आईपीओ माग भएको सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले जनाएको छ । मंसिर १४ गतेदेखि निष्कासनमा आएको कम्पनीको आईपीओको आवेदन दिने समय यही मंसिर २८ गते बन्द हुँदैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि एक लाख २० हजार कित्ता आईपीओ निष्कासन गरेको छ । पहिलो चरणमा मंसिर १४ गतेदेखि (आइपिओ)को निष्कासन तथा बिक्री खुला भएको हो ।

सो कम्पनीले दोलखाको धार्मिक एवम् पर्यटकीय स्थल कालिञ्चोकमा भगवती मन्दिरसम्मको केबलकार सञ्चालन गरिरहेको छ । कम्पनीलाई केयर नेपालले ‘केयरएनपी बिबी प्लस आइआर’ प्रमाणपत्र प्रदान गरेको छ ।